के साङ्ला, KRishna Bahadur MAhara Limbu film
 

काठमाडौँ ।  सभामुख कृष्णबहादुर महराले लिम्बू भाषा को चलचित्र ‘के साङ्ला’ विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गर्नुभएको छ । सभामुख महराले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्त्वपूर्ण बाजाको रूपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

झापाका मृगौलापीडित निर्मल लिम्बूको सहयोगार्थ शनिबार कमलपोखरीस्थित सिटी सेन्टर बिग मुभिजमा चलचित्रको विशेष प्रदर्शनी गरिएको थियो । चलचित्र प्रदर्शन हुनुअघि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले नेपाल विविध जातजाति, भाषा, कला संस्कृतिको धनी भएको बताउनुभयो ।

चलचित्र ‘के साङ्ला’ले लिम्बू जातिको भाषा, संस्कृति र कलाको संरक्षण एवं सम्वर्धनमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुहुँदै सभामुख महराले आफ्नो इतिहास, संस्कृति र परम्पराको संरक्षणमा जागरुक भएकाेमा चलचित्र युनिटको प्रशंसा गर्नुभयो ।

चलचित्र बनाएर व्यवसाय गर्ने भन्दा आफ्नो मौलिक कला संस्कृतिको संरक्षण एवं समाजसेवातर्फ लागेकोमा खुशी व्यक्त गर्दै सभामुख महराले चलचित्रको आम्दानीबाट मृगौलापीडितलाई सहयोग गर्ने कार्य निकै सह्रानीय भएको बताउनुभयो ।

सो अवसरमा मृगौलापीडितका लागि देश तथा विदेशबाट संकलन गरिएको सहयोग तथा फिल्म युनिटले टिकटबाट प्राप्त गरी जम्मा भएको १ लाख ६३ हजार रकम सभामुख महराले मृगौलापीडित निर्मल लिम्बूलाई हस्तान्तरण गर्नुभएको थियो ।