काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाका लागि प्रस्थान गर्नुभएकाे छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा भ्रमणका लागि प्रधानमन्त्री ओली बिहीबार त्यता प्रस्थान गर्नुभएकाे हाे।
वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३० देखी जेठ १ सम्म कम्बोडियाकाे औपचारिक भ्रमणमा निस्किनुभएका प्रधानमन्त्रीसँग उहाँकी जीवन संगीनी राधिका शाक्य पनि हुनुहुन्छ। दुवै देशको भ्रमणमा रहँदा प्रधानमन्त्रीले द्विपक्षीय हित प्रवर्द्धन लगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने बताइएकाे छ ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यसँगै उहाँसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि भ्रमणमा सहभागी छन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत मन्त्रीहरू र उच्च कर्मचारीले विदाई गर्नुभएकाे थियाे । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।