Chairman Prachanda, Nepal Communist Party (NCP)
 

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जसरी भए पनि मेलम्ची छिटो ल्याउनु पर्ने बताउनुभएकाे छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले फास्ट ट्रयाकबाट भए पनि मेलम्ची छिटो ल्याउनुपर्ने बताउनुभएकाे हाे ।

‘मेलम्चीको खानेपानी चाँडै काठमाडौं ल्याउन कूनै ठुलो कुरा होइन। मेलम्चीको खानेपानी काठमाडौं ल्याउनका लागि कस्तो अप्रेसन गर्नुपर्छ, के के गर्नुपर्छ सरकारले गर्छ ।’ दाहालले भन्नुभयाे – ‘समयमै खानेपानी ल्याउने भनेर लागेकै हो। तर त्यसमा विभिन्न खेलहरु हुन्छन्, तपाईंहरुले देखिहाल्नुभो।’

विश्वका धेरे देशमा खानेपानी निर्यात गर्नसक्ने क्षमता नेपालसँग रहेको अध्यक्ष प्रचण्डको भनाइ छ। याङ्ग्री र लार्के नदीबाट थप दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं ल्याउने थप काम चाँडै अगाडि बढाइने पनि उहाँले बताउनुभयाे । प्रचण्डले भन्नुभयाे – ‘नेपालको सगरमाथालगायत हिमालको पानी विश्व बजारमा निर्यात गर्न सकिन्छ । यसबारे मैले केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि एउटा छलफल गरेर आएको छु ।’

अध्यक्ष प्रचण्डले सिंगापुर सागरका बिचमा रहेर पनि खानेपानी मलेसियाबाट मगाइरहनु परेको सुनाउनुभयाे । नेपाल जलस्रोतका हिसाबमा धेरै अगाडि रहेको उहाँकाे भनाइ छ ।