Nirmal Lama 19 th Memorial day
 

काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका एक आदरणीय नेता क. निर्मल लामाको स्मृतिमा आज नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १९ औं स्मृति सभा सम्पन्न भएको छ ।

निर्मल लामा प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका वरिष्ठ नेता अमिक सेरचनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका स्वच्छ छवीका बयोबृद्ध नेता क. विष्णुबहादुर मानन्धरले गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेकपाका नेता क. लिलामणि पोखरेलले क. लामाको राजनीतिक जीवन र भ्रष्टाचारविरूद्ध उहाँका धारणाहरूबारे प्रकाश पार्दै अबको आन्दोलन राजनीतिक भ्रष्टाचार विरुद्धको हुने बताउनु भयो । उहाँले भ्रष्टाचारका किसिम र त्यसको अन्त्यबारे समेत चर्चा गर्नुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले क. निर्मल लामाको जीवन व्यवहार र उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा गरेका योगदानहरूको विषयमा चर्चा गर्नु भएको थियो ।

क. लामाको १९ स्मृति सभामा भ्रष्टाचार विरुद्ध अभियान छेड्ने घोषणा पनि गरियो । सो घोषणाले स्मृति सभामा उपस्थित विशिष्ट सहभागीहरुको विशाल पंक्ति र सामान्य जनतामा नयाँ खुशियाली ल्याउन सफल देखिएको थियो ।

 

Nirmal Lama meorial day Nirmal lama pratishthan

कार्यक्रमको सञ्चालन नेकपाकी महिला नेतृ तथा राज्य व्यवस्था समिति सभापति क. शशी श्रेष्ठले गर्नु भएको थियो  भने नेता रणेन्द्र बरालीले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वमन्त्रीहरू, सांसदहरु, पूर्वराजदूतहरु, वरिष्ठ लेखक, साहित्यकार, बुद्धिजीवी तथा योजना आयोगका सदस्य, संस्कृतिकर्मीहरु लगायत सर्वसाधारण श्रमजीवि जनताको ठूलो उपस्थिति रहेको थियो भने जनकलाकारहरुले निर्मल लामाको सम्झनामा गीतहरु प्रस्तुत गरेका थिए ।

आफ्नो जीवनपर्यन्त नेपाली कम्युनिस्ट आन्दोलनमा इमान्दार नेताको छवी बनाएका क. निर्मल लामा २००७ सालको एकदलीय राणातन्त्र विरुद्धको क्रान्तिको पश्चिम कमाण्डका कमाण्डर हुनु हुन्थ्यो ।उहाँ दार्जिलिङको मिरिकस्थित चिया कमानमा कार्यरत एउटा मजदुर परिवारमा जन्मेर नेपाली राजनीतिको शीर्ष स्थान प्राप्त गरेका एवम् क्रान्ति र वर्गप्रति अतुननीय रूपले निष्ठावान नेता हुनुहुन्थ्यो ।

मृत्युसँग जुधिरहेको अवस्थामा क. लामालाई नागरिक अभिनन्दन गरिएको थियो । नेपालका श्रमजीवीहरूको बिचमा क. लामा जीवितै छँदा अन्तिम चरणमा व्यक्त गर्नुभएको “मेरो सम्झाना गरी खाने वर्गले गरोस्, काम गरेर, क्रान्ति गरेर, सँधै अगाडि बढेर” भन्ने विचार अत्यन्तै लोकप्रिय रहेको छ ।

उहाँले आफूलाई शालिक ठड्याएर, कुनै राजमार्गको नाम राखेर, वर्षदिनमा एकदिन सम्झेर होइन, जनतको पक्षमा काम गरेर, अन्याय अत्याचार विरुद्ध निर्णायक क्रान्ति गरेर, प्रतिगमनको अन्त्य गरेर, स्वाभिमानी किर्तिमानी भएर स्मरण गरियोस् भन्ने भाव व्यक्त गर्नुभएको थियो ।

नेकपा निकट मजदुर नेता जय कार्की क. निर्मल लामालाई स्मरण गर्दै “उहाँले देशबाट राजनैतिक भ्रष्टाचारको अन्त्य नगरी देश अघि बढन सक्तैन, अबको आन्दोलन राजनैतिक भ्रष्टाचारको अन्त्यका लागि गर्नुपर्छ भनी उद्घोष गर्नुभएको थियो र आज त्यही उदघोष् सत्य सावित भएको” कुरा बताउनु हुन्छ ।

लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै उहाँले “देशमा ठूलो राजनैतिक परिवर्तन भइसकेको र संघीय गणतन्त्रमा पुगिसक्यो, राजतन्त्रको अन्त्य भैसक्यो तर पनि सबैभन्दा भयावह भ्रष्टाचारका घटनाहरु एकपछि आर्को गरि उदाँगो हुँदै आएको छ” भन्नुभयो ।

देशका विभिन्न स्थानहरूमा पनि विभिन्न कार्यक्रमहरू गरी क. निर्मल लामालाई स्मरण गरिएको छ ।