काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभएकाे छ ।
पशुपतिनाथ एवं बागमती गङ्गा आरती सेवा समिति नेपालद्वारा शनिवार राजधानीमा आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उहाँले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे – ‘सेवा समितिले पशुपतिमा शुरू गरेको गङ्गा आरती कार्यक्रमले पशुपतिको महत्वसँगै पर्यटकको समेत आकर्षण बढाएको छ, यस्ता अन्य धार्मिकस्थलमा फरक फरक ढङ्गबाट पर्यटकको आकर्षण बढाउन सकिन्छ ।’
विसं २०६४ देखि पशुपतिनाथ मन्दिरको पूर्व भाग बागमतीको पूर्वी प्राङ्गणको सार्वजनिकस्थलमा हरेक बेलुका गङ्गा-आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
पूर्वमन्त्री शान्ता मानवीले धार्मिकस्थलका रुपमा परिचित पशुपति क्षेत्रलाई अझै व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने धारणा राख्नुभयाे ।