रौतहट, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार भएकाे बताउनुभएकाे छ । रौतहटको कटहरिया नगरपालिकामा सोमबार आयोजित जानकी जयन्ती समारोहको उदघाटन गर्दै उपराष्ट्रपति पुनले भ्रष्टाचारको निर्मूल गर्नका लागि सबै सरोकारवाला सक्रिय भएर लाग्नु पर्ने बताउनुभएकाे हाे ।
उपराष्ट्रपति पुनले सीमा क्षेत्रकाे अतिक्रमण जोगाउने मुख्य काम मधेसवासीले गरेको बताउनुभयाे। ‘सीता जन्मेको यो पबित्र भूमिको सीमा क्षेत्रको रक्षक भनेको मधेसी जनता मात्रै हुन् ।’ उपराष्ट्रपति पुनले भन्नुभयाे – ‘अब देश विकास गर्न प्रदेश-प्रदेशबीच र स्थानीय तहबीच कडा प्रतिस्पर्धा हुनुपर्छ अनि मात्र देश समृद्धि बन्छ।’
उपराष्ट्रपति पुनले नेपाल विविधतायुक्त समुदाय, धर्म, भाषा संस्कृतिले धनी भएकाले कसैसँग तुलना गर्न नसक्ने बताउनुभयाे । त्रेता युगमा जन्मेकी महान नारी सीताको बिचारलाई पुन: स्मरण र मनन गर्न जरुरी रहेकोमा उहाँको जाेड थियो ।