काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको कार्यकक्षमा बुधबार तनाव उत्पन्न भएकाे छ । झण्डै हात हालाहालको अवस्था सिर्जना भएको मन्त्रालय श्राेतले बताएकाे छ । उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरूले मन्त्री यादवमाथिसमेत हातपात प्रयास गरेका स्रोतले बताएको छ ।
मन्त्रीका निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरूले अश्लील गालि गर्दै हातपातमा उत्रिएको बताइएको छ । कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुर्व्यवहार गरेका मन्त्रालय स्रोतको भनाइ छ ।
अनावश्यक भाँडभैलो – मन्त्री यादव
यता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भने नेपाली कांग्रेस पक्षधर कर्मचारी युनियनका नेताहरुले मन्त्रालयमा अनावश्यक भाँडभैलो मच्चाएको प्रतिक्रिया दिनुभएकाे छ ।
बुधबार दिउँसो मन्त्रालय कार्यकक्षमा हात हालाहाल भएको विषयलाई लिएर मन्त्रीे यादवसँग कुरा गर्दा उहाँले कर्मचारीको हक हितमा काम गरिरहेका बेला कांग्रेस पक्षधर कर्मचारीहरुले अनावश्यक बखेडा झिकेको अरोप लगाउनुभयाे ।
‘कांग्रेस पक्षधर कर्मचारीका नेताहरुलाई घुस खाने ठाउँ चाहिएको रैछ, त्यही विषयमा झगडा गरे’ मन्त्री यादवले भन्नुभयाे । सचिवालयमा आएर अनेक बहाना झिक्दै बबाल मच्चाइरहेका कर्मचारी नेताहरुलाई यो नेतागिरी गर्ने ठाउँ होइन भनेर भन्न नपाउँदै उनीहरुले आफूमाथि जाइलाग्न खोजेको मन्त्री यादवले बताउनुभयाे ।
यसअघि सरुवाको विषयलाई लिएर मन्त्रीमाथि हातपात भएको भन्दै प्रकाशन भएका समाचारका विषयमा मन्त्री यादवले केही डिजिटल पत्रिकाहरुले अतिरञ्जना फैलाउन खोजेपनि वास्तविकता त्यो तहको नभएको प्रतिक्रिया दिनुभएकाे छ ।
नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा घुस लिएर सरुवा गरेको आरोप लगाउँदै कांग्रेस निकट कर्मचारी युनियनका नेताहरु मन्त्रीको कार्यकक्ष घेर्न पुगेपछि बुधवार दिउँसो मन्त्रीकाे कार्यकक्षमै झडपको स्थिति सिर्जना भएको थियो ।