Chairman Prachanda Lalitpur
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जनप्रतिनिधिले एकताबद्ध भएर उद्देश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेकाे बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक छ । सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीन तहको सरकार बनेको हो । यो स्थानीय तह जनताको सेवा सुविधाका लागि हो । यहाँको जनप्रतिनिधिले जनताका बिचमा आफूलाई काम गरेको प्रमाणित गर्नुपर्छ । ’ उहाँले स्थानीय जनप्रतिनिधिलाई जनताको मन जितेर काम गर्न निर्देशन पनि दिनुभयाे ।

ललितपुर महानगरपालिका वडा न २६ को ढोलाहिटीको नवर्निमित भवनको आज बिहान उद्घाटन गर्दै अध्यक्षले संघीयतामा तीन तहको सरकार सिंहदरवारको अधिकार गाउँ तहसम्मै पुर्‍याउने उद्देश्यका साथ निर्माण गरिएकोले जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभयाे ।

उहाँले केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको पनि स्पष्ट पार्नुभयाे । बजेट र पूर्वाधारको अभावले अपेक्षा अनुसार प्रत्यक्ष रुपमा सेवा प्राप्त गर्न नसके पनि अब भने सबैकाे ध्यान त्यसैमा केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो ।

अहिले ऐन नियम बनिनसकेको र अभाव रहेकै बेला हिजोको एकात्मक राज्य नै ठीक भन्नेहरु अलि अलि सल्बलाउन थाले पनि क्रमशः विकास निर्माणले गति लिन थालेकोले जनताको अपेक्षा अनुसारको काम हुँदै जान थालेको अध्यक्षले बताउनुभयाे । आफूले ललितपुरमै बसेर विद्रोहको तयारी गरेको, शान्ति प्रक्रियापछि पनि ललितपुरमै बसेको र अहिले ललितपुरमै आफ्नो बसाई रहेकोले पनि ललितपुर जिल्लासँग भावनात्मक सम्बन्ध रहेको उहाँकाे भनाई थियो ।

ललितपुरको समृद्धि र विकास आफ्नो पनि चाहाना रहेको भन्दै प्रचण्डले यसका लागि प्रधानमन्त्री सहितको जनप्रतिनिधिहरुको बैठक राख्न आफुले पहल गर्ने बताउनुभयाे । ‘फाष्ट ट्य्राक र ललितपुरको विकासका लागि प्रधानमन्त्री सहितको बैठक राख्न म पहल गर्छु, अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘ललितपुर जिल्लाको समृद्धि र यहाँका जनताको हितको निमित्त निरन्तर सहयोग गर्ने आश्वासन दिन्छु ।’