Bhairavnath Documentary
 

काठमाडौं । दश वर्षे महान् जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको भैरवनाथ गणभित्र राजवन्दीहरूलाई दिइने पाशविक यातना र सो गणबाट वेपत्ता पारिएका ४७ जना योद्धाहरूको वास्तविक कथामा तयार गरिएको वृत्तचित्र ‘भैरवनाथ’ आइतबार कुमारी चलचित्र भवन कमलपोखरीमा सार्वजनिक गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, खानेपानी मन्त्री तथा भैरवनाथ गणका राजवन्दी योद्धा बीना मगर, नेकपाका नेता अमृत बोहोरा, हिसिला यमी, राधा ज्ञवाली, नैनकला थापा, लगायतका महिला नेतृहरू, वरिष्ठ कलाकार रामेश, रायन, मदनकृष्ण श्रेष्ठ, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, शहीद तथा वेपत्ता परिवारहरू, विभिन्न दलका नेताहरू, मानव अधिकारवादीहरु, वरिष्ठ कलाकर्मीहरू, साहित्यकर्मीहरू र पत्रकारहरूसमेतको उपस्थितिमा वृत्तचित्र सार्वजनिक भएको हो ।

Chairman Prachanda Bhairabnath Documentary
वृत्तचित्र हेर्दै अध्यक्ष प्रचण्ड

वृत्तचित्रको प्रदर्शनीपश्चात नेकपाका अध्यक्ष तथा महान् जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डले अहिलेको परिवर्तनमा हजारौँ योद्धाको बलिदान रहेको बताउनुभयो । वृत्तचित्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने दुर्गा केसीलाई अध्यक्ष प्रचण्डले खुलेर प्रशंसा गर्दै, “देशमा जुन राजनीतिक परिवर्तन भएर हामी एउटा समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षातिर अगाडि बढिरहेका छौँ, त्यसका पछाडि हजारौँ, लाखौँको त्याग, बलिदान र पीडा छ भन्ने कुरा वृत्तचित्रले उल्लेख गरेको छ’ भन्नुभयो । उहाँले ‘हामी अहिले जुन परिस्थितिमा अगाडि बढ्दैछौँ, त्यसको पछाडिको पृष्ठभूमि कति मार्मिक थियो भन्ने कुरा बोध गर्न, शिक्षा लिन र अगाडि बढ्न ‘भैरवनाथ’ प्रेरणदायी छ’ ।

दुर्गा केसीले निर्माण गरेको ‘भैरवनाथ’ नेपाली जनमानसमा जिउँदो शहीदका रूपमा सुपरिचित योद्धा कृष्ण केसीको कथा हो । वृत्तचित्रमा केसी सशस्त्र जनयुद्धको समयमा तत्कालीन मानव वधशालाको रूपमा परिचित ‘भैरवनाथ गण’बाट पक्राउ परेदेखि पहिलो पटक सार्वजनिक हुँदासम्मको कथा समेटिएको छ । कालीदेस्कोप प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको वृतचित्र ‘भैरवनाथ’ले ‘यस्तो पीडा अब कुनै नेपालीले भोग्नु नपरोस्, यस्तो बर्बरता अबको पुस्ताले देख्नु नपरोस्’ भन्ने नारा उठाएको छ ।

‘कृष्ण केसीले भैरवनाथ गणभित्र बन्दीका रूपमा पाएको यातना र उनका रिहाइका लागि उनकी श्रीमती दुर्गा केसीले गरेको सङ्घर्षसमेत वृत्तचित्रको विषयवस्तु हो । श्रीमान् कृष्ण केसीलाई सेनाले गिरफ्तार गरेपछि दुर्गाले भोगेका मानसिक, शारीरिक, सामाजिक, प्रशासनिक र पारिवारिक पीडासमेत वृत्तचित्रले मार्मिक रूपमा उठाएको छ ।

Krishna KC when being public during the peoples war period
जनयुद्धका योद्धा कृष्ण केसी, जसको कथामा ‘भैरवनाथ’ बन्यो

कथा वस्तुका मूल पात्र तथा महान् जनयुद्धका योद्धा कृष्ण केसीले “सरकार, अदालत, संसद्, प्रदेश सरकार र स्थानीय निकायलाई बोलाएर अहिलेको परिवर्तन सजिलो तवरले आएको होइन, परिवर्तनका लागि मानिसले केकस्ता बलिदान दिए भन्ने सम्झाउन र सोहीअनुसार आगामी दिनमा काम गर्नतिर अग्रसर गराउन ‘वृत्तचित्र’ प्रदर्शन गरिएको” जानकारी दिनुभयो । उहाँले वृत्तचित्रले बृहत् शान्ति सम्झौता भएदेखि अहिलेसम्म धेरै सरकार बने पनि मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगले गर्न नसकेको प्रभाकारी कामको विषयमा पनि सम्बन्धित निकाय र व्यक्तिलाई समेत सचेत गराउने विश्वास व्यक्त गर्नुभयो ।

भैरवनाथ गणका राजवन्दी तथा योद्धा हिमाल शर्माले लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै, “भैरवनाथमा सेनाले यातना दिएर तेरो अन्तिम इच्छा के छ भन्दा ‘यसरी यातना दिनुभन्दा गोली ठोकेर एकै पटकमा मारिदे’ भन्थ्यौँ, त्यो पीडा, त्यो बलिदानी भावलाई यो वृत्तचित्रले समेटेको र यो वृत्तचित्रलाई देशव्यापीमात्र नभई विश्वव्यापी रूपमा प्रदर्शन गरिनु पर्ने” राय व्यक्त गर्नुभयो ।

जनयुद्धका अर्का योद्धा तथा पत्रकार सङ्गिता खड्काले, “यो कथाले एउटा प्रतिनिधि घटनाको रूपमा जनयुद्धको महान त्याग, तपस्या र बलिदानलाई नेपाली जनतासामु ल्याएको छ”, भन्नुभयो ।

वृत्तचित्रका निर्माता तथा कथाकार दुर्गा केसीले, “यो वृत्तचित्रमा मैले कृष्णजी र आफूले भोगेका पीडालाई नै प्रमुख विषय बनाए पनि यो कथा महान् जनयुद्धका सबै योद्धाहरू र उहाँहरूका परिवारजनको कथा हो”, भन्दै, “वृत्तचित्र निर्माणको क्रममा साथ, सहयोग र प्रेरणा दिने सबैलाई हृदयदेखि धन्यवाद व्यक्त”, गर्नुभयो ।

Bhairabnath Documentaray

प्रतिष्ठा कुशुम केसी र राजकुमारको अभिनय रहेको वृत्तचित्रमा दुर्गा केसीको कथा तथा निर्माणमा तयार भएको हो । प्रभातकिरण केसी कार्यकारी निर्माता रहेको वृत्तचित्रलाई सम्पादन तथा निर्देशन शिव पुरीले गरेका छन् । अष्टमान महर्जनको द्वन्द्व रहेको वृत्तचित्रमा एलिस कार्कीको पार्श्व सङ्‌गीत रहेको छ।

वृत्तचित्र प्रदर्शन कार्यक्रमको आयोजना अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले गरेका थिए ।