Think Tank
 

काठमाडौँ । एसियाका थिङ्क ट्याङ्कहरू सम्बन्धी अध्ययनमा नेपालको अवस्था अत्यन्तै कमजोर देखिएको छ ।

एसियाका विभिन्न मुलुकहरूका १८२९ थिङ्क ट्याङ्कहरुको बिचमा गरिएको अध्ययनमा नेपाल पछाडि (उल्टो) बाट १३औं श्रेणीमा परेको छ, यो अवस्था तीव्र विकास र प्रगतिसहित समाजवादउन्मुख व्यवस्था निर्माणमा जुटेको नेपाल जस्तो देशका लागि दुःखद कुरा हो । सरकारले यसबारे ध्यान दिनु जरूरी भएको विश्लेषकहरूको धारणा रहेको छ ।

थिङ्क ट्याङ्कको यस अवस्थाबारे चासो व्यक्त गर्दै मानवअधिकारकर्मी तथा एलडिसि वाचका अध्यक्ष गौरी प्रधानले सामाजिक सञ्जाल मार्फत विस्तारमा आफ्नो धारणा राख्नु भएको छ ।

मानवअधिकारकर्मी प्रधानले आफ्नो फेसबुकमा लेख्नुहुन्छ, “हिजो आज हाम्रो देशमा थिङ्क ट्याङ्कको विषयमा व्यापक बहस र विचार विमर्श भैरहेको देखिन्छ। त्यो राम्रो कुरा हो । सामान्यतया, थिङ्क ट्याङ्कहरु भनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा नीतिगत सल्लाह सुझाव दिने विषयगत ज्ञान र अनुभवले खारिएका विशिष्ट व्यक्तिहरुको समूह हो । विभिन्न देशका थिङ्क ट्याङ्कहरु क्षमता र प्रभावकारिताको हिसावले कस्तो अवस्थामा रहेको छ भन्ने विषयमा Global Distribution of Think Tanks by Country, 2018 अनुसार संसारमा ८,२४८ वटा थिङ्क ट्याङ्कहरु बिच गरिएको एक अध्ययनले अमेरिका नं. १, भारत नं. २ र चीन नं. ३ मा रहेको देखाउँछ ।”

“एसियामा रहेका १८२९ थिङ्क ट्याङ्कहरुको राष्ट्रिय अवस्थाको अध्ययन अनुसार भारत र चीनले हासिल गरेको श्रेणी (Rank) क्रमश: ५०९ र ५०७ छ भने नेपालको श्रेणी (Rank) १३ हो । क्रमश: बंगलादेशको ३६, अफगानिस्तानको २२, श्री लंकाको ३२ र पाकिस्तानको २५ हो । अब गम्भीरताका साथ विचार गरौं, हाम्रो देशको थिङ्क ट्याङ्क भनिएका संस्थाहरुको अवस्था नै यस्तो दयनीय र नाजुक छन् भने, तिनले दिने नीतिगत सल्लाह, सुझाव र सिफारिस अनि तिनको कार्यान्वयनको प्रभावकारिता साँच्चै कस्तो होला? विषय गम्भीर र विचारणीय छ”, उहाँको धारणा छ ।

उहाँले “देशमा आवश्यक शान्ति, सुरक्षा, सुव्यवस्था, दिगो विकास, सम-वृद्धि, सु-शासन र समावेशिताको निम्ति के कस्तो सक्षम, प्रभावकारी र गतिशील ‘थिङ्क ट्याङ्क’ चाहिने हो ? सो बारे सृजनशील बौद्धिक संवाद अघि बढोस्,” भन्दै शुभ कामना व्यक्त गर्नुभएको छ ।

प्रधानको विचारले सामाजिक सञ्जालमा बहसको राम्रो सुरुवात गरेको छ । त्यसमा विभिन्न विज्ञहरू तथा अन्य व्यक्तित्वहरूले सहभागिता जनाउँदै प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिँदै बहसमा भाग लिने क्रममा अर्का मानवअधिकारकर्मी देवेन्द्र प्रसाद अधिकारीले, “थिङ्क ट्याङ्क हुनका लागि कुनै पनि विषयको एउटा त्यान्द्रो समातेर त्यसको जरो-किलोसम्म पुग्नुपर्ने हुन्छ । त्यसका लागि सम्बन्धित व्यक्ति वा संस्थाको प्रतिवद्धता, कटिवद्धता, क्षमता, ज्ञान हासिल गर्ने र विश्वलाई नयाँ ज्ञान दिने इमान्दार प्रयास जरुरी हुन्छ । तर नेपालमा अरु क्षेत्रमा देखिएको विकृति र विसंगतिहरु यस क्षेत्रमा पनि छ । अझ भनौँ नेपाली बौद्धिक समुदाय तथा संस्थाहरु अन्य (पश्चिमा) क्षेत्रमा प्राप्त गरेको ज्ञानको अभ्यास गर्ने स्थान बनेको छ। यो भनेको हाम्रो आफ्नै अध्ययनले निकालेको हाम्रो ज्ञानको त्यान्द्रो हामीसँग छैन ।

उहाँले “हामीसँग भएका थिङ्क ट्याङ्कको त्यो हविगत हुनुको पछाडिको कारणलाई यसरी प्रस्तुत गर्न सकिन्छ,” भन्दै ७ बुँदामा आफ्नो विश्लेषण प्रस्तुत गर्नुभएको छ, जुन निम्नानुसार छ ।

१. श्रोत र साधनमा पहुँच हुनेहरुले (अहिलेको मात्र हैन ) आफ्नै वरिपरि धुम्नेलाई थिङ्क ट्याङ्कको रुपमा बुझेका छन् । जो शक्तिको वरिपरि छन्, उनीहरु आफूलाई थिङ्क ट्याङ्कको रुपमा प्रस्तुत गर्छन् तर बहसमा सामान्य राजनीतिक नेता वा कार्यकता वा पैरवीकर्ताको जस्तो गर्छन्, यसले गर्दा सबैलाई एउटै ढालोमा राखियो ।

२. यस क्षेत्रमा श्रोत र साधनहरु सरकारी क्षेत्रबाट अत्यन्त कम छुट्याइएको छ। पर्याप्त श्रोत र साधन नभइकन नयाँ ज्ञान असम्भव छ र चुरो कुरो पत्ता लाग्दैन अर्थात् अध्ययनहरु सतही हुन्छन् । थिङ्क ट्याङ्कको रङ्गनै देखिँदैन ।

३.अन्तर्राष्ट्र्रिय अनुन्धानका सहयोगहरु सीमित व्यक्तिहरुको हातमा छ । अझ स्पष्ट भन्दा उनीहरु नयाँ ज्ञान हासिल गर्नुभन्दा पनि बढीभन्दा बढी परियोजनाहरु सञ्चालन गरेर ज्ञानभन्दा पनि आर्थिक उपार्जनतिर बढी केन्द्रित भएर अनुसन्धानको विषयलाई पनि अन्य व्यापार जस्तै मानेका छन् ।

४. हामी त्यो स्तरमा पुग्नुको पछाडि जति पनि अनुसन्धानका ठेलीहरु छन् अधिकांशमा (सबैमा होइन) खालि अर्थहीन शब्द मात्र पाइन्छ ।

५. थिङ्क ट्याङ्कले त आफ्नो विषय भन्दा बाहिरको विषयमा सही व्यक्ति तथा सही संस्था औल्याउँछ । तर नेपालमा त एकै व्यक्ति एकै संस्था सबै विषयको ज्ञाता छन् । अझ भनौँ रत्नपार्कमा राखेको औषधिको व्यापार जस्तो छ, खाँदा पनि हुने, लाउँदा पनि हुने, सुघाउँदा पनि हुने तर दुखेको टाउको ठीक नहुने । तर श्रोत र साधनको स्वाहा चाहिँ भैरहने ।

६. विश्व विद्यालयहरुमा आशालाग्दा बौद्धिक व्यक्तित्वहरु देखिन्छ । कतिपय अनुसन्धानहरु उत्कृष्ट पनि छन्। तर ती व्यक्तित्वहरु र अनुसन्धानहरु शक्ति केन्द्रमा बसेकाहरुले नचिन्दा र नपढ्दा बेकार सावित भएका छन् ।

७. नेपाली थिङ्क ट्याङ्कको स्तरोन्नतिका लागि माथि उल्लेख गरिएको अवस्थाबाट मुक्ति पाउन अनुसन्धानको क्षेत्रमा व्यापक नीतिगत सुधार, कडा अनुगमन र पर्याप्त श्रोत र साधनको उपलब्धता आवश्यक छ ।

थिङ्क ट्याङ्कहरूको विषयमा नेपालमा पर्याप्त बहस हुने गरेको छैन र यो सरकारको प्राथमिकताको विषयसमेत बन्न सकेको छैन । यस्तो अवस्थामा यो बहसले एउटा दिशानिर्देश गर्ने सक्ने विश्लेषकहरुको धारणा रहेको छ ।