Chakra Pani Khanal Baldev with Ambassador of UAE
 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले संयुक्त अरव इमिरेट्स (युएई) लाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताउनु भएको छ ।

नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बीले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो बताउनु भएको हो । मन्त्री खनालले भन्नुभयो, ‘तपाईंहरुको प्राथमिकता निर्धारण गर्नुहोस्, हामी त्यसका लागि व्यवसायिक उत्पादन गरेर निर्यात गर्छौं ।’

नेपालले खासगरी अर्गानिक कफी, अलैंची, गुणस्तरीय चिया, अगुवा लगायतका कृषि उपज निर्यात गर्न सक्ने मन्त्री खनालको भनाई छ । यसले दुई देशको व्यापारिक र पारस्परिक सम्बन्ध विस्तार हुने मन्त्री खनालले विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि युएईले आवश्यक परे प्राविधिक सहयोग गर्न सक्ने उहाँको भनाई छ ।

जवाफमा राजदूत नाक्बीले युएईले अधिकांश खाद्य पदार्थ चीन, भारत, पाकिस्तान लगायतका मुलुकबाट आयात गर्ने गरेको भन्दै नेपाल पनि उपयुक्त मुलुक हुनसक्ने बताउनुभयो । त्यसका लागि चिया, कफी र पानी आफूहरुका लागि आयात गर्ने उपयुक्त वस्तु र मुलुक हुन सक्ने राजदुतको भनाई थियो ।

नेपालमा उत्पादन भएका केही कृषि उपज भारतले आफ्नो ट्याग लगाएर युएई निर्यात गर्ने गरेको सुनाउँदै राजदूत नाक्बीले ब्राण्डिङ, लेवलिङ र प्याकेजिङमा ध्यान दिएर नेपाल आफैले निर्यात गर्नसक्ने सुझाव दिनुभयो । पानीको समस्या खेपिरहेको युएईले १४ वटा कम्पनी मार्फत समुन्द्रको पानी सुद्धीकरण गरेर उपयोग गरिरहेको राजदूतको भनाई छ ।