काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता स्वनाम साथीले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताउनु भएको छ ।
आइतबार राजधानीस्थित संवाद डबलीमा ‘रुपलाल विश्वकर्माको स्मृति सभा’ तथा ‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । गैरकम्युनिस्ट तरिकाले सरकार बढ्दै गयो भने छिटै जनता आन्दोलित हुने उहाँको भनाइ छ ।
उहाँले वर्तमान सरकार कम्युनिस्टको भएकोले स्वभावैले जनताको बढी अपेक्षा भए पनि यो सरकारले केही गर्न नसकेको बताउँदै भन्नुभयो, “प्रचण्ड–ओलीजी तपाईंहरु कम्युनिस्टका नाममा जे गर्नुस् तर जनतालाई कम्तिमा भोकभोकै मर्नुपर्ने अवस्थाबाट माथि उठाउनुस् ।”
उहाँले अगाडि भन्नुभयो, “विश्व अर्थतन्त्रको ५० प्रतिशत ठूला साहु, २५ प्रतिशत साना साहू र बाँकी २५ प्रतिशत आम मानिसको हातमा रहेको छ यस्तो दर्दनाक अवस्थामा नेपालमा पनि ठिक त्यही देखियो ।”
रुपलाल विश्वकर्माका सहकर्मी रहेका स्वनाम साथीले आदिवासी जनजातिका नाममा आन्दोलन गर्ने, उनीहरुलाई नै भर्याङ बनाएर सत्तामा पुगेर जनविरोधी बन्ने नेपाली कम्युनिस्ट चरित्रप्रति आक्रोस व्यक्त गर्नुभयो । दलितहरुको नाममा हुने आन्दोलनमा धेरै बलिदानी हुने उपलब्धि भने शुन्य हुनाले आफूलाई दलित नभन्न पनि उनले आग्रह गर्दै भन्नूभयो, “आजको समयदेखि दलित हो नभन्नु होला, यो व्यवस्थालाई दुत्कारेर लड्न जाने फेरि यो या त्यो बाहानामा यही व्यवस्थाको आशा गर्नु गलत हुन्छ ।”
स्वनाम साथीले कम्युनिस्ट र कम्युनिस्ट हुनुमा धेरै फरक विषय भएको बताउँदै, नेपालमा विभिन्न किसिमका कम्युनिस्ट – हिन्दु, क्रिश्चियन, क्रान्तिकारी, भ्रान्तिकारी लगायतका कम्युनिस्ट हुनु नेपालका लागि दुर्भाग्य भएको विचार व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाली कम्युनिस्ट आन्दोलन तथा दलित आन्दोलनमा रुपलाल जत्तिको अब्बल नेता कोही नभएको बताउँदै उहाँले विप्लवको नाम नतोकी वर्तमान सरकार कम्युनिस्टको भए कसैलाई दमन गर्नुभन्दा कम्युनिस्टलाई मिलाउन सक्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै रूपलाल विश्वकर्माकी जीवन संगिनी रोमा विश्वकर्माले कम्युनिस्टहरुले रुपलालका विचारहरुलाई बाहिर आउन रोकेको तर आज उनको विचारमाथि बहस भएकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसरीनै प्रा. डा. सुरेन्द्र केसीले नेपाली कम्युनिस्ट आन्दोनमा भयङ्कर ठूलो ठगी भएको भन्दै यो सरकार जनताको भन्दा दलाल र लुटेराहारुको भएको आरोप लगाउनु भयो । केसीले नेपालीहरुको हिजो भन्दा आज झन दर्दनाक अवस्था भएको भन्दै अगाडि भन्नुभयो, “७२ लाख नेपाली कामका निम्ति विदेशमा भौँतारिएका छन्, संसारमा सबैभन्दा गरिब कंगोमा नेपाली चेलीहरु नाच्नु पर्ने कस्तो हो यो कम्युनिस्ट सरकार ।”
आफूले शासकहरुका गलत गतिविधिहरुको निर्मम आलोचना गर्ने भएकाले राम्रो नमान्ने मुख्य कारण भएको बताउँदै हाँस्दै “मेरो नाम गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ज गर्नुपर्छ भन्नेहरु पनि आएका छन्, म बोल्छु किनकी भोलिका सन्ततिका लागि, किनकी मलाई देश बाहेक केही स्वार्थ छैन ।”
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेशक पुरुषोत्तम दाहालले बाबुरामले साम्यवादी विचारधारा बेकार रहेछ भने तर रुपलाल विश्वकर्माले मार्क्सवादलाई परिमार्जित गरेर समाज रुपान्तरणमा लाग्नु पर्ने सही विषय उठाएको विचार व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा विमोचन गरिएको ‘नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा’ नामक पुस्तकका लेखक डा.राजेन्द्र रेग्मीले आफूले किताब लेखे पनि उहाँका साथीहरु नै यसका वास्तविक पुस्तक रहेको उहाँको ठहर छ । कतिपयले रुपलालको विचारलाई बाहिर ल्याएकोमा धन्यवाद दिए भने, कतिपयले रुपलालप्रतिको आफ्नो विश्लेषणको कारण आलोचना पनि खेपेको धारणा राख्नुभयो ।
लेखक रेग्मी अगाडि भन्नुहुन्छ,“विपरित बिचको समरुपता भन्ने रुपलाल जस्तै त्यही समूहका निर्मल लामाले शसस्त्र संघर्षबाट परिवर्तन हुन सक्दैन भनेर उहाँ चुप लाग्नु भयो तर रुपलालले त्यसको विकल्पमा नयाँ विचारको विकासमा लाग्नुले पनि उहाँको अब्बलता प्रष्टिएको छ ।”
पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक सहदेव लकान्द्रेले लुकेर रहेको विचार बाहिर आउनु मुख्य कुरा भएको धारणा राख्नुभयो । लकान्द्रेले कम्युनिस्ट आन्दोलन व्यक्तिपिच्छे फरक–फरक हुने र एकले अर्काको सत्तोसराप गर्ने, अर्कोलाई नस्विकार्ने प्रवृत्तिको शिकार रुपलाल भएको विचार राख्नुभयो ।
रुपलालका सहकर्मी गोपीनाथ विश्वकर्माले रुपलाल एक अथक वास्तविक कम्युनिस्ट व्यक्तित्व रहेको धारणा राख्नुभयो ।
अर्का वक्ता ध्रुवराज ढकालले नेपालमा एउटा धार विप्लवले र अर्को धार प्रचण्ड–केपीले नेतृत्व गरेको र ती दुवै धारको समीक्षा गरी गल्ति, कमी, कमजोरीलाई केलाउँदै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले यी दुवै पक्षले वास्तविकतालाई नबुझे भारतमा जस्तै खस्किन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष तथा रुपलाल विश्वकर्मा स्मृति प्रतिस्ठानका अध्यक्ष अमर विश्वकर्माले नेपालमा भइरहेको कम्युनिस्ट आन्दोलन पनि विश्वको हिस्सा भएकोले यहाँका कम्युनिस्टहरु पनि त्यही उचाईबाट उठ्ने र जुट्ने प्रयास गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष विश्वकर्माले अहिलेको दुई तिहाईको सरकारले सबैलाई मिलाएर लग्नुपर्नेमा झन् कम्युनिस्टहरुमाथि नै खनिनु देश र जनताको दुर्भाग्य भएको बताउनु भयो ।