काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको नेपाली मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
आज ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, “इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना एवं ‘ईद मुवारक’ व्यक्त गर्दछु,” भन्नु भएको छ ।
“हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको छ । बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचानहरु हुन् । हामी नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी छौं । यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ । यस्ता चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यहीँ विविधताभित्र रहेको इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व ईदुल फित्र अर्थात् ईद पनि एक रहेको छ”, शुभकामना सन्देशमा उल्लेख छ ।