काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम (डिआर) पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ ।
नेकपाका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, “आज बिहान ६:४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम (डिआर) पौडेलको ५३ वर्षको उमेरमा हृदयघातका कारण दुःखद् एवं असामयिक निधन भएको छ । हाम्रो पार्टी कमरेड धनिराम (डिआर) पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।”
“सादा र सरल जिवनशैली अपनाउँदै आउनुभएका पौडलको असामयिक निधनले सिंगो पार्टी पंक्ति र नेपाली कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति भएको छ । यस शोकको घडीमा क. धनीराम (डिआर) पौडेलप्रति हाम्रो पार्टी पुनः भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ,” शोक वक्तव्यमा उल्लेख छ ।
शोक वक्तव्यको पूर्ण पाठः
आज बिहान ६:४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क. धनीराम (डिआर) पौडेलको ५३ वर्षको उमेरमा हृदयघातका कारण दुःखद् एवं असामयिक निधन भएको छ । हाम्रो पार्टी कमरेड धनीराम (डिआर) पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि.सं. २०२३ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका क. धनीराम (डिआर) पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिस्ट पार्टीमा सक्रिय रहनुभएको थियो । नेकपा (चौथो महाधिवेसन)को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०५१ मा तात्कालीन अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत बन्नुभएको थियो ।
२०३८ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । उहाँ अखिल नेपाल जनवादी युवा लिगको संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । विगतमा लामो समय उहाँले पार्टीको वैचारिक मुखपत्र ‘जनएकता’ साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो ।
२०५१ साल कात्तिक २१ गते कमरेड गंगा बेल्बासेसँग उहाँको जनवादी विवाह भएको थियो । उहाँका दुई छोरी जागृति र आकृति सहित बुबा, आमा, एक भाइ र सात दिदी–बहिनी हुनुहुन्छ ।
तत्कालिन नेकपा (एकताकेन्द्र मसाल) र नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को पोलिट्व्युरो सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी संगठनमा पूर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै २०७० सालको संविधान सभामा सभासद् र शिक्षा मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभएको थियो । उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्यका रुपमा शिक्षाको नीति–निर्माणसहित दिवाकर स्मृतिग्रन्थ पुस्तकको सम्पादन गरिरहनुभएको थियो । हाल उहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का बीच एकीकरण पश्चात् बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
सादा र सरल जिवनशैली अपनाउँदै आउनुभएका पौडलको असामयिक निधनले सिंगो पार्टी पंक्ति र नेपाली कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति भएको छ । यस शोकको घडीमा क. धनीराम (डिआर) पौडेलप्रति हाम्रो पार्टी पुनः भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।
३१ जेठ, २०७६
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष