One Belt One Road Program at Kathmandu
 

काठमाडौँ । एक प्रदेश एक मार्गको अवधारणामा चीन दक्षिण एसियाबाट के चाहन्छ ? भन्ने विषयमा काठमाडौँमा विचार गोष्ठीको आयोजना गरिएको छ ।

चीन सांस्कृतिक केन्द्रको आयोजना र अरनिको समाजको सहआयोजनामा शनिबार सो विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा चिनियाँ प्रोफेसर वाङ य्वीचू मुख्य वक्ताको रुपमा उपस्थित थिए ।

प्रोफेसर वाङले चिनियाँ महत्त्वाकांक्षी परियोजना वान बेल्ट वान रोड, यसले विश्वमा पार्ने प्रभाव, दक्षिण एसियाली राष्ट्रहरुको अवस्था र अपेक्षा तथा चीनले दक्षिण एसियाबाट गरेको अपेक्षाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रोफेसर वाङले आफ्नो प्रस्तुतिमा दक्षिण एशियाली राष्ट्रहरुमा पूर्वाधारको कमी भएकोले विदेशी लगानी भित्र्याउन नसकिएको उल्लेख गरे । चीनले दक्षिण एसियाली राष्ट्रहरुलाई धेरै भन्दा धेरै सहयोग गर्न चाहिरहेको पनि उल्लेख गरे ।

उनले भने, ‘चीनले दक्षिण एशियाली राष्ट्रमा सहयोग गर्न चाहन्छ तर सबै क्षेत्रमा गर्दैन, सबै क्षेत्रमा गर्छु भन्नु पनि हुँदैन ।’ उनले सबै क्षेत्रमा लगानी गर्छु भन्नुको अर्थ नगर्नु भएकोले चीनले त्यसो नगर्ने पनि स्पष्ट पारे । उनले दक्षिण एसियाली राष्ट्रहरुले चीनका महत्त्वपूर्ण परियोजनाबाट फाइदा लिनुपर्ने पनि बताए ।

भौगोलिक रुपमा पनि जोडिएका दक्षिण एसियाली राष्ट्रले चीनसँग सहकार्य गर्न चाहनुपर्ने उल्लेख गरे । उनले भने, ‘एसियाली देशहरुले चाहेमात्रै चीनले पनि उचित सहकार्य गर्न सक्छ ।’ बेल्ट एण्ड रोड परियोजनामा चीनको मात्रै फाइदा नभएकोले दक्षिण एसियाली राष्ट्रले यसमा सहयोग र सहकार्य गर्ने अपेक्षा चीनले लिएको उनले बताए ।

कार्यक्रमको दोस्रो सत्रमा प्रो. वाङले सहभागीहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले भाषा सहजकर्ताको काम गरेका थिए ।