Nepal Communist Party (NCP)
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ वटा महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोक्दै पार्टी एकता प्रक्रियालाई नयाँ गति दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइञ्चार्जहरु तोकेको हो । तत्कालीन एमालेको भागमा ४५ र तत्कालीन माओवादीको भागमा ३८ इञ्चार्ज परेको छ ।

मन्त्रीहरूलाई पनि इञ्चार्जको जिम्मेवारी

नेकपाले संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीलाई समेत जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ ।

संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा काभ्रे जिल्लाको इञ्चार्ज बनेका छन् । त्यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई स्याङ्जा जिल्लाको इञ्चार्ज बनाइएको छ । कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइञ्चार्ज बनेकी छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इञ्चार्ज बनेका छन् ।

महिला नेतृहरूलाई जिम्मेवारी

नेपाली जनताको वर्गीय मुक्तिको र महिला मुक्तिको नेतृत्वकर्ता दावी गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सहइञ्चार्जमा महिला नेतृहरूलाई यथेष्ठ जिम्मेवारी दिएको छ ।

७७ जिल्ला र ६ महानगरपालिका सहित ८३ जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्दा नेकपाले ४६ जना महिला नेतालाई जिम्मेवारी दिएको छ । कतिपय जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज दुवै महिला बनेका छन् । जसमध्ये १० जनाले जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका छन् बाँकीले सहइञ्चार्जको जिम्मा पाएका छन् ।

जिल्ला इञ्चार्जको जिम्मा पाउनेमा संघीय सरकारको भूमि व्यवस्थामन्त्री पदमा अर्याल पनि रहेकी छन् । उनी स्याङ्जा जिल्लाको इञ्चार्ज बनेकी छन् । त्यस्तै तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुसाल, ललितपुर महानगरपालिकामा सुशीला नेपाल, बाग्लुङमा बलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली, कैलालीमा रुपा चौधरी र भरतपुर महानगरपालिकामा रेनु दाहाल इञ्चार्ज बनेका छन् ।

त्यस्तै राज्यमन्त्री सरहको वरियतामा रहेका संघीय संसदका सभापतिहरुमध्ये निरु पाल, पूर्णकुमारी सुवेदी, कल्याणी खड्का लगायतले जिल्ला इञ्चार्जको भूमिका पाएका छन् ।

देशकै राजधानी तथा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंको इञ्चार्ज सावित्रा भुसाललाई जिम्मा दिइएको छ भने सहइन्चार्जमा अन्जना विसंखे र पार्वती थापा छन् ।

त्यस्तै ललितपुर महानगरपालिकाको इञ्चार्ज सुशीला नेपाल तोकिएकी छन् भने भरपुर महानगरको इन्चार्ज रेणु दाहाल बनेकी छन् ।

प्रदेश १ अन्तर्गत झापामा धर्मशीला चापागाई सहइञ्चार्ज बनेकी छन् भने रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज बनेकी छन् । तेह्रथुमको इञ्चार्जमा जयन्ती राईलाई खटाइएको छ भने दुर्गा जयन्ती राई र समिता कार्की खोटाङको सहइञ्चार्ज बनेका छन् ।

उदयपुरको सहइञ्चार्जमा मन्जुकुमारी चौधरीले जिम्मा पाएकी छन् ।

प्रदेश २ अन्तर्गत सिरहामा रामरतिदेवी राम र सीता पोखरेल सहइञ्चार्ज तोकिएका छन् भने धनुषामा जुलीकुमारी महतो, बोधमाया कुमारी यादव र सर्लाहीमा कमलादेवी महतो सहइञ्चार्ज बनेका छन् ।
कल्याणी खड्का र सरलाकुमारी यादव रौतहटको सहइञ्चार्ज बनेका छन् ।

प्रदेश ३ मा दोलखा जिल्लाको इञ्चार्ज र सहइञ्चार्ज दुवै युवा महिला नेताले जिम्मा पाएका छन् । देवी खड्का इञ्चार्ज बन्दा रचना खड्काले सहइञ्चार्जको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै सिन्धुलीमा उमा कोइराला र चितवनमा गंगा बेलबासे र ज्ञानुदेवी बस्नेत सुवेदी सहइञ्चार्ज बनेका छन् । मकवानपुरको सहइञ्चार्जमा कुमारी मोक्तानलाई जिम्मा दिइएको छ । मकवानपुरको अध्यक्ष पनि महिलानै छन् मुनु सिग्देल ।

विमला सुवेदी रसुवाको इञ्चार्ज बनेकी छन् ।

गण्डकी प्रदेश अन्तर्गत पद्मा अर्याल स्याङ्जाको इञ्चार्ज र सीता सुन्दास सहइञ्चार्ज बनेका छन् । अर्याल संघीय सरकारको मन्त्री हुने भने दलित महिला नेतृ सुन्दास जिल्ला समन्वय समितिकी प्रमुख तथा जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष हुन् ।

बलावती शर्मा बागलुङको इञ्चार्ज बनेकी छन् भने सहइञ्चार्ज पनि मनकुमारी केसी बनेकी छन् । त्यस्तै मुस्ताङ जिल्ला इञ्चार्जमा श्रीमाया थकालीले जिम्मेवारी पाएकी छन् । कास्कीमा सीता गिरी , तनहुँमा आशा कोइराला र गोरखामा सुशीला सिम्खडा सहइञ्चार्ज बनेका छन् ।

प्रदेश ५ मा सुशीला श्रीपाइली अर्घाखाँची र दामाकुमारी शर्मा, नारायणी शर्मा र शान्ता चौधरी दाङ, कमला रोक्का पूर्वी रुकुम, ताराकुमारी घर्ती रोल्पा र पूर्णकुमारी सुवेदी बाँकेकाे सहइञ्चार्ज बनेका छन् ।

सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कैलाली जिल्लाको इञ्चार्जमा रुपा चौधरी र सहइञ्चार्ज गरिमा शाह र लिलाकुमारी भण्डारी तोकिएका छन् । त्यस्तै निरादेवी जैरु डडेलधुरा, रेणु चन्द वैतडी, निरु पाल कन्चनपुर र गौरी ओली डोटीको सहइञ्चार्ज बनेका छन् ।