काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवादी क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहरूका लागि आर्दश भएको र बनिरहने दावी गर्नुभयो ।
यही २०७६ साउन १० गते काठमाडौंमा आयोजित ‘क्युबाको पक्षमा एसिया प्रशान्त क्षेत्रीय ऐक्यबद्धता सम्मेलन (एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा)’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै उहाँले समाजवाद निर्माणका लागि क्युबाको कम्युनिस्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो ।
अंग्रेजीमा आफ्नो मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री प्रचण्डले समाजवादी क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिस्टहरुको आर्दशभूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिस्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि बताउनु भयो ।
अध्यक्ष प्रचण्डले क्युबाली महान नेता फिडेल क्यास्ट्रो र क्रान्तिकारी नेता चे ग्वेभारालाई स्मरण गर्दै आफूले जनयुद्धको समयमा चे ग्वेभाराका छापामार युद्ध सम्बन्धी रचनाहरू पढ्ने गरेको कुरा समेत उल्लेख गर्नुभएको थियो । आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको पनि बताउँदै समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’ को नारा अघि सारेको स्पष्ट पार्नुभयो ।
दुई दिनसम्म चल्ने एसिया प्रशान्त क्षेत्रको यो सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको हो । सम्मेलनमा क्युवाली क्रान्तिका नायक अर्नेस्टो चे ग्वेभाराकी छोरी अलेइदा ग्वेभारा र अमेरिकामा गिरफ्तारीमा परी १७ वर्ष जेल बसेर रिहा भएका क्युबाली ५ जना नायकहरू (क्युबन फाइभ) मध्येका एक फर्नान्डो गोन्जालेस सहित १५ देशका अतिथिहरू, वक्ताहरू र सहभागीहरूको उपस्थिति थियो ।
सम्मेलनको उद्घाटन सत्रका केही झलकहरूः