nepal open defaceted nation, khula disamukt desh
 

काठमाडौँ। संघीय गणतन्त्र नेपाल आजदेखि ‘खुला दिशामुक्त राष्ट्र र पूर्ण सरसफाईमा अग्रसर नेपाल’ घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आज आयोजित खुला दिसामुक्त राष्ट्र घोषणा एवं पूर्ण सरसफाईतर्फ अग्रसर नेपालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल खुल्ला दिसामुक्त देश’ भएको घोषणा गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताउनु भयो । संयुक्त राष्ट्र संघ लगायतका प्रतिनिधिहरुले सरसफाईमा नेपाल सरकारले गरेको तीव्र प्रगतिको सह्राना गरेका थिए ।

घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललगायतले नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा गरेर उदाहरणीय काम गरेको बताउनु भएको थियो ।

इतिहास रचिन् मन्त्री मगरले

यो घोषणासँगै नेपाल खुला दिसामुक्त मुलुक घोषणा हुने दक्षिण एसियाको पहिलो मुलुक बन्न पुगेको छ भने विपक्षीहरूबाट प्रचण्ड-बुहारी भएकाले मन्त्री बनेको र काम गर्न नसकेको आरोप खेप्दै आएकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले आफ्नै कार्यकालमा यो कार्यमा सफलता हासिल गरेर नयाँ इतिहासको रचना गर्न सफल हुनुभएको छ । विगतमा यो मन्त्रालयलाई कम महत्त्वको मन्त्रालयको रूपमा लिने र काममा ध्यान नदिने प्रचलन बढ॥ थियो, जसलाई उहाँले चिर्न सफल हुनु भएको छ ।

पछिल्लो समय खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मन्त्रालयको कार्यभार सम्हालेपछि यसतर्फ तीव्रताका साथ काम भइरहेको थियो । यसले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा दिएको सरकारले ‘स्वस्थ मुलुक र स्वस्थ नागरिक’ निर्माणमा पनि पहल गरिरहेको स्पष्ट सन्देश दिएको छ ।

सरकारका कामकारबाहीबारे आमजनतामा निराशा उत्पन्न भइरहेको समयमा मुलुकलाई खुला दिसामुक्त घोषणा गरिनु एउटा महत्त्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ भने यसबाट सरकारले आफ्ना काम कारबाहीहरूलाई निरन्तर एउटा रफ्तारमा अगाडि बढाइरहेको सन्देश प्रबाह भएको छ ।

नेपाल सरकारले सन् २०११ सालबाट प्रत्येक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्लता घोषणा गरिएको थियो ।

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिनु अघि खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव माधव बेलबासेले आधारभूत सरसफाईमा शतप्रतिशत सफलता हासिल भएको उल्लेख गर्दै अब पूर्ण सरसफाइमार्फत ‘स्वच्छ र स्वस्थ्य नेपाल’ निर्माण गरिने बताउनु भयो ।

उहाँका अनुसार १९८० मा २ प्रतिशत नेपालीको घरमा मात्र चर्पी थिए भने सन् २०१० मा त्यो संख्या बढेर ४३ प्रतिशत पुगेको गियो । २०११ मा सरसफाई गुरुयोजनामार्फत जनताकै लगानीमा २०१९ सम्म आधारभूत सरसफाई अन्तरगत शतप्रतिशत घरमा चर्पी निर्माण भएको पनि उहाँले जानकारी दिनु भयो ।

नेपाललाई खुला दिसामुक्त बनाउने अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेका मानिसहरूको सहयोग र सहभागिताको कारणनै देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी तथा सरसफाई मन्त्रालयको भनाइ छ । खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।

दुई वर्ष ढिला पूरा भएको लक्ष्य

सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’

सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै सबै घरमा शौचालय निर्माण गर्ने र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यअनुसार काम नहुँदा दुई वर्ष ढिला गरी खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो । २०६८ सालमा सरसफाई गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ ।

कुन प्रदेशमा कति शौचालय बने ?

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन्र । प्रदेश १ मा ९ लाख ६५ हजार २७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६४९ र प्रदेश ३ मा १६ लाख २२ हजार १९३ घरधुरीमा शौचालय बनेका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा चार लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् । सदस्य सचिव झाका अनुसार यति शौचालय बनाउन झन्डै ७५ अर्ब रुपैयाँ पूर्णलगानी नागरिकको छ।

‘नागरिकको पूर्ण लगानी र सहभागितामा सफल भएको यो नेपाल सरकारको एक उदाहरणीय कार्यक्रम हो,’ सदस्य सचिव झाले भने ।

पहिलो खुला दिसामुक्त जिल्ला कास्की, अन्तिम भोजपुर

नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो । कास्कीलाई २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको नेपालको अन्तिम अर्थात् ७७ औं जिल्ला भोजपुर हो । भोजपुर जिल्लालाई यही असोज ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

राजधानी काठमाडौँलाई गत भदौ ३१ गते खुला दिसामुक्त घोषणा गरिएको थियो । तर, पर्याप्त आधारबिना हतारमा खुला दिसामुक्त घोषणा गरेको भनेर सरकारको आलोचना पनि हुने गरेको छ । कतिपय घरमा शौचालय नभएको, भएको पनि प्रयोगमा नआएको र सार्वजनिक शौचालय अभाव भएको कारणले पनि खुला दिसामुक्त घोषणा व्यवहारमा कार्यान्वयन हुनेमा शंका छ ।