Antonio Guteres, UN Secretary General
 

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

स्पेनको राजधानी म्याड्रिडमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा विश्वभरका स्वाधिन मुलुकहरूको साझा संस्था संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आफ्नो विचार  व्यक्त गर्दै जलवायु परिवर्तनबारे सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवायु परिवर्तनलाई एउटा निराधार हल्ला बताइरहेको र पेरिस सम्झौताबाट बाहिर निस्केको समयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनका खराब असर झन्झन् उजागर गएको भन्दै जलवायु परिवर्तनका खतराका सामु विश्व अब पछाडि हट्नै नसक्ने स्थितिमा पुगेको  उल्लेख गर्दै चेतावनी दिएका हुन् ।

उनले प्रकृतिमाथि मानव जातिले चलाएको युद्ध बन्द गर्नुपर्ने भन्दै विश्वव्यापी तापक्रम वृद्धिसँग जुध्न राजनीतिक इच्छाशक्ति जुटाउनुपर्ने बताए । उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्टाउन गरिएका प्रयास अत्यन्त अपर्याप्त रहेको उनले बताए ।

उनले ऊर्जाका लागि उत्खनन् गर्ने काम बन्द गरी नवीकरणीय ऊर्जाले प्रस्तुत गरेका विशाल सम्भावनाको फाइदा लिनुपर्ने पनि बताए । उनले म्याड्रिड सम्मेलनमा खासगरी विश्वका सबैभन्दा धेरै प्रदूषक देशहरूबाट समाधानमा थप सहयोगको अपेक्षा गरेको समेत बताए ।

उनले जलवायु विनाशबाट जोगिन सकिने केही सम्भावना कायमै रहेको पनि बताए । गत साता राष्ट्रसंघको निकाय वातावरण कार्यक्रमले यदि विश्वव्यापी तापक्रम वृद्धि दरलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने हो भने देशहरूले कार्बन उत्सर्जन कटौतीसम्बन्धी तिनका महत्त्वाकांक्षालाई पाँच गुनाले बढाउनुपर्ने बताएको थियो ।