प्रचण्ड, chairman prachanda, pushpa kamal dahal
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंको दहचोकमा श्रीकृष्ण माविको विद्यालय भवन उद्घाटन गर्दै उहाँले आफूहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरेको बताउनुहुँदै राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिनुभयो ।

Shree krishna ma vi, Chairman prachanda

शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पुरा हुन नसक्ने उहाँको भनाई थियो । व्यावसायिक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षामा निजी क्षेत्रलाई निषेध गरेर नहुने बताउनुभयो । निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन, सामुदायिक विद्यालयहरुलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन मिल्ने उहाँको भनाई थियो ।

त्यसैगरी श्री नारायणजन माध्यमिक विद्यालय, मच्छेगाउँको भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आजै उहाँले आफूहरुले जनताको जीवनमा सकारात्मक सन्देश दिने र रोजगारमूलक शिक्षाको कुरा गरेको बताउनुभयो । अध्यक्षले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने क्षेत्र भनेको शिक्षा नै भएको बताउनुभयो ।