Prachanda, Chitwan Elephant Festival
 

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन हात्ती महोत्सव सिंगो नेपालकै चिनारी रहेको बताउनुभयो ।

आज हात्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले हात्ती महोत्सवले चितवनसँगै नेपाललाई नै विश्वमा चिनाउन सफल रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको हात्ती महोत्सवलाई धराशायी बनाउने खेल भइरहेकाले सचेत बन्न सबैलाई आग्रह गर्नुभएको छ । केही पशु अधिकारकर्मीहरुले हात्तीलाई दुःख दिएको लगायतका विषयमात्रै देखाएर सयौँ गुणा राम्रा र फाइदाका कुरालाई ओझेल पार्न खोजेको प्रचण्डको भनाइ छ ।

हरेक वर्ष आयोजना हुने हात्ती महोत्सवले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग मिलेको उहाँको भनाइ थियो । पर्यटकीय उद्योग विकासका लागि सम्भावनायुक्त देश नेपाललाई विश्वमा चिनाउन थप सबै एकजुट भएर लाग्नुपर्नेमा प्रचण्डले जोड दिनुभयो ।

‘केही बुझक्कडहरुले मानव र वन्यजन्तुबीचको सबन्धलाई लिएर प्रश्न उठाएका छन, सदियौँदेखिको सम्बन्धलाई नजरअन्दाज गर्दै पर्यटन क्षेत्रलाई कमजोर बनाउन खोजिरहेका छन्’ उहाँले भन्नुभयो, ‘केही देशीविदेशीहरुको पनि सहभागिता देखिन्छ, हामी सबै सचेत बन्नुपर्छ ।’ पर्यटन प्रवद्र्धनमा पुराना ऐननियम पनि बाधक रहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले २०२९ सालको ऐनले वन, वन्यजन्तु र मानव सबैलाई सम्बोधन नगरेकाले संशोधन गर्ने प्रक्रिया सुरु भएको बताउनुभयो ।

उहाँले भ्रमण वर्ष २०२० को प्रचारप्रसार यसअघिको भन्दा राम्रो भएकाले सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन प्रचारप्रसार सँगै पर्यटकीय पूर्वधारहरु अझ धेरै निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले जति विकास गरे पनि झन्झन् बढ्दै जाने उद्योग भनेको पर्यटन उद्योग भएकाले हामी सबै मिलेर नेपाललाई पर्यटनको परिचय दिलाउनुपर्नेमा जोड दिनुभयो ।