चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरीक्षण गर्नुभएको छ । स्थलगत अवलोकनपछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तरीय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई आग्रह गर्नुभयो ।
‘यो राष्टिय गौरवको आयोजना हो । यसलाई सफल बनाउन सम्पूर्ण नेपालीको दायित्त्व हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो–‘यो निर्माणका लागि पार्टी र सरकारको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ उहाँले रंगशालाको काम के कस्तो भइरहेको होला, कसरी अगाडि बढिरहेको होला भन्ने आफूलाई खुल्दुली लागेकाले पनि आज आयोजना निर्माणस्थलमै आएर निर्माण प्रगति अवलोकन गर्दा खुसी लागेको उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले रंगशाला निर्माणका लागि ७७ वटै जिल्लामा सहयोग समिति गठन गरेर अगाडि बढ्न कट्टेललाई आग्रह गर्नुभयो । ‘यो राष्ट्रको आयोजना हो, यसमा हामी सबैसँगै छौं’–उहाँले भन्नुभयो – ‘निर्माणमा आफ्नो पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग हुने पुनः प्रतिबद्धता व्यक्त गर्दछु ।’ ‘तपाईंहरू निर्माण कार्यलाई गुणस्तरिय र पारदर्शी ढंगले काम गर्दै जानुस्, यसको निर्माण सम्पन्न हुन्छ र बन्छ’–पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले थप्नुभयो । आयोजना निर्माणमा चितवनबासीको सबैभन्दा बढी अपनत्व हुनुपर्ने बताउँदै उहाँले सबैलाई सकेको सहयोग मन फुकाएर गर्न आग्रह गर्नुभयो ।