PRachanda, puspa kamal, dahal, press organization nepal
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको र त्यसका लागि जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।

शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन, नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्य रूपमा काम गरेको छ । त्यसका लागि जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

उहाँले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा पनि जोड दिनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह पनि गर्नुभयो ।

दश बर्षे महान जनयुद्धका सर्बोच्च कमाण्डर तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै त्यो कुनै हालतमा सफल हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला ठूला परिवर्तन भएका छन् ।’

अध्यक्ष प्रचण्डले विचारको एकरूपता भए मात्र एकीकृत पार्टीको उद्देश्य प्राप्त हुने पनि बताउनुभयो । तत्कालीन एमाले र माओवादी केन्द्र बिच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धता अनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाई थियो । ‘पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं । पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौँ । पाँच वर्षका लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।’

Press organisation nepal, oath, baluwatar
प्रेस संगठन, नेपालका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सपथ ग्रहण गर्दै