Comrade Pushpa Kamal Dahal, Prachanda, Chairman of the Communist Party of Nepal (CPN)
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।

ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले पुरानो वर्ग (बर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको उल्लेख गर्दै साँस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आइरहेको बताउनु भएको छ।

शुभकामना सन्देशको पूर्ण पाठः

तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । पुरानो वर्ग (बर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्त्व राखेको छ । सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमू समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आइरहेका छन् ।

राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको हुन्छ । यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरु बीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँदछ ।

नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । २१ औं शताब्दीमा नेपाली पहिचान सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यबद्धता आजको आवश्यकता हो ।

यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा सहित तमु समुदायलगायत समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

१५ पुष, २०७६
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष