पुष्पकमल दाहाल, प्रचण्ड, Pushpa kamal dahal prachanda
 

काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष २०२० का अवसरमा दिनुभएको शुभकामना सन्देशको नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च प्रशंसा गर्नुभएको छ।

बुधबार बिहान काठमाडौँमा चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनवादी गणतन्त्र चीनले प्राप्त गरेको उपलब्धि उत्साहबर्द्धक भएको र चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो शुभकामना सन्देशमा थुप्रै उपलब्धिलाई समेट्नु भएको बताउनुभयो ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ, President Xi Jinping
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ

शान्ति र स्थिरतासँगै चीनले राष्ट्रध्यक्ष सीको नेतृत्वमा प्राप्त गरेको उपलब्धि विश्वकै लागि अनुकरणीय रहेको उहाँले बताउनुभयो । चीन निरन्तर विकासको मार्गमा अगाडि बढिरहेको भन्दै नेता प्रचण्डले चीनको स्थिर विकासले सबै मानव समाजलाई हित पुग्ने र सबैलाई समृद्ध बनाउने कुरामा उहाँले जोड दिनुभयो ।

नयाँ वर्ष सन् २०२० मा चीनको विकासले नयाँ अध्याय खोल्ने र चीनको विकास निरन्तर जारी रहने पनि उहाँले बताउनुभयो । चीनले आपसी सम्पर्क सञ्जाल विकास गर्दै बीआरआई मार्फत अन्य देशसँग पनि विकासको साझेदारी गरेको बताउँदै नेता प्रचण्डले मानव समुदायको भाग्य र भविष्य उज्ज्वल बनाएको बताउनुभयो ।

(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)