काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार को उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
आज सोनाम ल्होछार-२८५६ को उपलक्ष्यमा अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार – २८५६ को अवसरमा स्वदेश तथा विदेशमा रहुनुभएका सम्पूर्ण तामाङ दिदी–बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको शुभकामना सन्देश मार्फत “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र भएको” उल्लेख गर्दै “बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघिबढ्न अभिप्रेरित गरिरहेका छन्”, भन्नु भएको छ ।
उहाँले लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको र सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव भएको विचार व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशको पूर्ण पाठः
तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार – २८५६ को अवसरमा स्वदेश तथा विदेशमा रहुनु भएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।
हामी देशको आर्थिक समृद्धिको चरणमा छौँ । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।
यस पर्वले समस्त समुदायहरूमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्दछु ।
११ माघ, २०७६
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष