काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनवादी क्रान्ति विश्व इतिहासमै मौलिक भएको र यसको मोडेल संसारको कुनै पनि किताबमा नभेटिने बताउनु भएको छ ।
शनिबार नेकपाका नेता तथा मार्क्सवादी अध्येता क. गोपीरमण उपाध्याय र युवा नेता क. मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘विश्व इतिहासमा पुँजीवादी क्रान्तिको नेतृत्व कम्युनिस्टहरुले गर्ने गरेका छन् । तर, नेपालले त्योभन्दा मौलिक मोडेलको विकास गर्यो । हाम्रो क्रान्तिमा पुँजीपति वर्गलाई पनि साथ लियौँ । यो मोडेल संसारको कुनै पनि किताबमा खोजेर भेटिँदैन ।’’
अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलन सामन्तवाद, साम्राज्यवादविरोधी आन्दोलन भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘कम्युनिस्ट आन्दोलन सामन्तवाद, साम्राज्यवादविरोधी आन्दोलन हो । सामन्तवाद र वैदेशिक हस्तक्षेपका विरुद्ध सङ्घर्ष गरेर नै माओत्सेतुङले चीनमा जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । क्रान्तिको नेतृत्व सर्वहारा वर्गको हातमा आयो । तर, हिन्दुस्तानको आन्दोलन त्यसो हुन सकेन।’’
‘‘हिन्दुस्तानको कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्न नसक्नुमा साम्राज्यवादसँग नरम नीति लिनु पनि थियो’’ क. प्रचण्डले भन्नुभयो, ‘‘त्यहाँको कम्युनिस्ट पार्टीले साम्राज्यवादसँग सङ्घर्ष गर्न सकेन । बरु, उल्टै साम्राज्यवादसँग सहकार्यको नीति लियो । त्यसको फाइदा डेमोक्र्याट्सहरुले उठाए । त्यसमा चीन र रुसका कम्युनिस्ट नेताहरुको सल्लाह पनि जिम्मेवार छ । त्यसकारण हिन्दुस्तानको कम्युनिस्ट आन्दोलन सोचेअनुसार अघि बढ्न सकेन । त्यसबाट हामीले गम्भीर शिक्षा लिएका छौं।’’
अध्यक्ष प्रचण्डले जनताको जनवाद नेकपाको संक्रमणकालीन कार्यदिशा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले जनताको जनवादलाई संक्रमणकालीन कार्यदिशाका रुपमा अंगीकार गरेका छौँ । समाजवादी क्रान्तिको तयारीका लागि यो एउटा बाटो हो । महाधिवेशनसम्म जाँदा हामी व्यापक अन्तरक्रिया र बहसको प्रक्रियामा जान्छौँ। समाजवादी क्रान्तिको कार्यदिशा थप परिमार्जनसहित संश्लेषण गर्छौं।’’
‘जनताको जनवादका आधारहरु’ पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट आन्दोलन स्वतन्त्रताको आन्दोलन भएको बताउनुभयो । पुस्तकमाथि टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘‘गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित पुस्तक अत्यन्तै उपयोगी छ। यसले नेपालको कम्युनिस्ट आन्दोलनको विकासक्रम बुझ्न सहयोग मिल्नेछ।’’
नेता ज्ञवालीले जनताको जनवादको कार्यदिशाले पुँजीवादलाई सुदृढ नगर्ने बताउनु भयो । उहाँले ‘‘जनताको जनवाद पुँजीवादलाई सुदृढ गर्ने कार्यक्रम होइन। यसले पुँजीवादी क्रान्तिका उपलब्धिसँगै समाजवादी क्रान्तिको पनि तयारी गर्ने मान्यता बोक्दछ। कसैले जनताको जनवाद भनेको पुँजीवादको सुदृढीकरण गर्छ भन्यो भने त्यो गलत हुन्छ। हाम्रो कार्यदिशा समाजवादको कार्यदिशा हो, यसमा भ्रमित हुनु हुँदैन” बताउनु भयो ।
ज्ञवालीले दलाल नोकरशाही पुँजीवादमाथि विजय हासिल नगरी समाजवादमा पुग्न नसकिने बताउनु भयो। उहाँले भन्नुभयो, ‘‘समाजवादी क्रान्तिको मुख्य बाधक दलाल नोकरशाही पुँजीवाद हो। त्यसलाई परास्त नगरी समाजवादी क्रान्ति सम्भव हुँदैन। दलाल पुँजीवादले सत्ताको संरक्षण खोज्छ, त्यसमा कम्युनिस्ट पार्टी सचेत हुनुपर्छ। हामीकहाँ वामपन्थी सरकारले नै दलाल पुँजीवादको संरक्षण गरिरहेको छ। यसमाथि समीक्षा गरिनुपर्छ।’’
कार्यक्रममा पुस्तकका सम्पादकद्वय गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाले नेकपाले संश्लेषण गरेको वैचारिक कार्यदिशाको बुझाइमा एकरुपता कायम गर्न पुस्तक सहयोगी हुने बताउनुभयो । पुस्तक इण्डिगो इङ्क प्रकाशनले बजारमा ल्याएको हो।