काठमाडौँ । बहुचर्चित राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उठाएका सबै उम्मेदवारहरू विजयी हुनुभएको छ ।
बिहीबार भएको निर्वाचनमा राष्ट्रियसभा सदस्यको अन्तिम मत परिणाम आजै सार्वजनिक भएको हो । रिक्त हुन लागेका १८ जना राष्ट्रिय सभाका सदस्यहरूका लागि बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहित १६ जना उमेदवारहरू विजयी हुनुभएको छ भने २ जना नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टीका उमेदवारहरू विजयी हुनुभएको छ ।
मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय सभामा प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, वागमती प्रदेशबाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश नं. ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जनाको निर्वाचन भएको थियो ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सबै उमेदवारहरू पराजित भएका छन् । प्रतिपक्षी दल भएर पनि राष्ट्रिय राजनीतिमा कुनै भूमिका खेल्न नसेकेको भनेर सर्वआलोचित र आन्तरिक कलहमा फसेको नेपाली काँग्रेसले राष्ट्रिय सभाका आफ्ना सबै ७ वटा सिट गुमाएको हो ।
विजयीहरूको नामावलीः
प्रदेश नं. १ मा महिलातर्फ क. इन्दु गौतम, दलितबाट क. गोपी अछामी र अन्यबाट क. देवेन्द्र दाहाल विजयी हुनुभएको छ ।
प्रदेश नं. २ बाट महिलातर्फ क. तुलसा दाहाल र दलिततर्फ क. राधेश्याम पासवान विजयी हुनुभएको छ । प्रदेश नं. २ मा नेकपाले राजपासँग तालमेल गरेको थियो, जसमध्ये महिला र दलित नेकपाले लिएको थियो भने अल्पसंख्यक र अन्यतर्फको उम्मेदवार राजपाले उठाएको थियो । प्रदेश नं. २ मा गठबन्धनतर्फका राजपाका उम्मेदवार शेखरप्रसाद सिंह र मृगेन्द्रकुमार सिंह विजयी हुनुभएको छ ।
बागमती प्रदेशबाट महिलातर्फ क. गंगा बेलबासे र अन्यमा क. बेदुराम भुसाल विजयी हुनुभएको छ ।
गण्डकी प्रदेशबाट अन्यतर्फबाट नेकपाका प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महिलातर्फ क. भगवती न्यौपाने विजयी हुनुभएको छ ।
प्रदेश नम्बर ५ मा महिलामा क. बिमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ क. जगप्रसाद शर्मा ‘अपार’ र अन्यतर्फबाट क. गोपाल भट्टराई विजयी हुनुभएको छ ।
कर्णाली प्रदेशमा महिलाबाट क. सुनिता बिसी र अन्यबाट क. मायाप्रसाद शर्मा ‘पारसमणि’ विजयी हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ क. शारदा भट्ट र अन्यबाट क. तारामान स्वाँर विजयी हुनुभएको छ ।
बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९ दशमलब १९ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।