काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत हाउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ ।
हिजो संघीय संसदको सभामुख पदमा निर्वाचित अग्निप्रसाद सापकोटाले आज बिहान मात्रै पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको थियो । सपथ ग्रहणपश्चात आजै कार्यभार ग्रहण गर्नुभएका सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीको बिचमा सिँहदरबारस्थित सभामुखको कार्यकक्षमा शिष्टाचार भेटघाट भएको थियो । भेटघाटको क्रममा राजदूत यान्छीले सभामुखमा निर्वाचित हुनुभएकोमा सापकोटालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छी बिच करिब आधा घण्टा कुराकानी भएको थियो । नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालमा रहेका कुटनीतिक नियोगहरू मध्ये पहिलो व्यक्ति हुनुहुन्छ ।
शिष्टाचार भेटघाटका क्रममा सभामुख सापकोटा र यान्छी बिच नेपाल-चीन सम्बन्धको बारेमा छलफल भएको थियो । राजदूत हउ यान्छीले चिनियाँ जनकाँग्रेसका अध्यक्षज्यूको तर्फबाट सभामुख सापकोटालाई चीन भ्रमणको निम्तो दिनुभयो । सभामुखको कार्यकाल सफलताको शुभकामना तथा बधाई दिँदै शपथ ग्रहण गरेको तीन घण्टाभित्रै शिष्टाचार भेटका लागि समय दिएको राजदूत हउ यान्छीले सभामुखलाई धन्यवाद दिनुभयो ।
राजदूतले यान्छीले दुई देशका संसदको बिचमा सम्बन्ध बिस्तार गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोरोना भाइरसका कारण चिनियाँ पर्यटक नेपाल आउने कुरामा कमी आउन नदिन र नेपाल भ्रमण वर्षलाई असर पर्न नदिन चीन सरकार सचेत रहेको राजदूत हउ यान्छीले बताउनुभयो ।
सभामुख सापकोटाले आगामी मार्चमा हुन गइरहेको चिनियाँ जनकाँग्रेसको संयुक्त सम्मेलनको सफलताका लागि शुभकामना दिनुभयो ।