कृष्णबहादुर महरा, krishna bahadur mahara, rolpa, dang
 

काठमाडौँ। संघीय संसद अन्तरगत प्रतिनिधि सभाका पूर्वसभामुख एवं दाङ क्षेत्र नं. २ का सांसद क. कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत साबित भएको र देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सँधै लडिरहने बताउनु भएको छ ।

अदालतबाट आजै सफाइ पाएका क. महराले डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै एक वक्तव्य जारी गर्दै आफूमाथिको आरोप गलत सावित भएको बताउनु भएको हो । वक्तव्यमा क. महराले भन्नुभएको छ, ‘अन्ततः ममाथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’

क. महराले आफूप्रति शुभेच्छा राख्ने सबैप्रति पनि धन्यवाद दिनुभएको छ । उहाँले स्वाधीनताको लडाइँमा आफू निरन्तर लागिरहने प्रतिज्ञा पनि गर्नुभएको छ । ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सँधै थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सँधै रहिरहनेछ।’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्ण पाठः

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

अन्ततः ममाथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु। यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु।

म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।

धन्यवाद ।

कृष्णबहादुर महरा

प्रतिनिधि सभा सदस्य, दाङ क्षेत्र नं. २