काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबैभन्दा ठूलो जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले कोरोना भाइरस नियन्त्रण का लागि नेपाल सरकार र पार्टीले अघिसारेका नीतिहरूको समर्थन गरेको छ ।
देशका दुई तिहाई किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने एवम् नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघको केन्द्रीय कार्यालयले आइतबार एक नोट सार्वजनिक गर्दै सो कुरा प्रष्ट पारेको छ ।
“अखिल नेपाल किसान महासंघ, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संकम्रणको महामारीबाट नेपालमा हुनसक्ने उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले यही मिति २०७६ चैत्र ९ देखि १९ गतेसम्म अत्यावश्यक सेवाक्षेत्र बाहेकका अन्य सबै क्षेत्रहरु बन्द गर्ने घोषणा गरेको हुँदा सरकारको सो कदमलाई समर्थन र सहयोग गर्दछ,” नोटमा उल्लेख गरिएको छ ।
किसान महासंघले कोभिड-१९को विश्वव्यापी महामारीको संवेदनशील अवस्थामा सम्पूर्ण किसानहरू तथा आम नागरिकलाई आवश्यक सतर्कता अपनाउँदै सुरक्षित साथ रहनुहुन पनि अनरोध गरेको छ ।
अखिल नेपाल किसान महासंघले आफ्नो केन्द्रीय कार्यालय २०७६ साल चैत्र ९ देखि १९ गते सम्मका लागि बिदा रहने जनाएको छ ।