काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देश बिचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।
नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हाल्नुभएकोमा राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उहाँको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा उहाँले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरु बिच सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।
यसै सन्दर्भमा नेपाल–भारत सीमाबाट सो महामारी नफैलियोस भनेर सीमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गर्नुभयो ।
राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले कोरोना भाइरस विरुद्धको लडाईमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।
कोरोनाको क्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्री बीच पनि छलफल भइसकेको तथा नेपालको गृह मन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
उहाँले भारतीय सहयोगमा काभ्रेको पनौतीमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराउनुभयो ।