काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने बताउँदै धैर्यतापूर्वक विपदको सामना गर्न देशबासीलाई अपील गर्नुभएको छ ।
शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो अपील गर्नुभएको हो ।
भिडियो सन्देशमार्फत गरिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस घडीमा मुलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ। हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु।”
विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट बच्न सबै नेपालीले सतर्कता अपनाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो “०७२ सालको विनासकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलतालाई हामीले दृढताका साथ सामना गर्यौँ । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।”
सन्देशमा प्रधानमन्त्री ओलीले २०७२ सालको विनासकारी महाभूकम्पका बेला नेपालीले देखाएको धैर्यता र विश्व समुदायले गरेको सहयोगको स्मरण गर्दै कोरोनाविरुद्धको लडाइँमा पनि विश्वसमुदायको साथ रहने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबै नेपाली र विश्वभरिका शुभेच्छुकहरुलाई धन्यवादसमेत दिनु भएको छ।
सम्बोधनको पूर्णपाठ:
एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली