काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नागरिक र आमसचारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
आज देशबासीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री एवम् सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. प्रचण्डले सो कुरा बताउनु भएको हो ।
भिडियो सन्देश मार्फत अध्यक्ष प्रचण्डले विज्ञान र सम्पूर्ण मानवजातिलाई चुनौती दिइरहेको कोभिड-१९ का कारण आजसम्म ६ लाखभन्दा धेरै मानिसहरू संक्रमित भएको र २७ हजारभन्दा धेरैले जीवन गुमाइसकेको उल्लेख गर्दै सबै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गर्नु भएको छ ।
कोभिड १९ का विरुद्ध विजयप्राप्त गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न तथा त्यसमार्फत देश र दुनियाँको रक्षामा योगदान गर्न सबैसँग अपिल गर्नुभएको छ ।
त्यस्तै उहाँले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गरी उनीहरुको मनोबल उच्च बनाउन र गरिव जनताको दैनिकीलाई मध्यनजर गर्दै तत्काल राहतको आवश्यक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
दोस्रो मृगौला प्रत्यारोपण पश्चात आफै चिकित्सकहरूको निगरानीमा बसेका विरामी प्रधानमन्त्री, गैरजिम्मेवारपूर्ण तरिकाले जे पायो त्यही बोल्दै हिँड्ने मन्त्रीहरू, कुनै मेसोमेलो बिना दिन कटाइरहेका स्वास्थ्यमन्त्री, मौकाको फाइदा उठाउन तल्लीन व्यापारी र लकडाउन गरेर नागरिकहरूको दैनिक जीवनबारे कुनै कार्यक्रम घोषणा नगरी चुपचाप बसेको राज्य संयन्त्रका कारण सरकार दिनानुदिन अलोकप्रिय भइरहेको समयमा अध्यक्ष प्रचण्डको यो अपिलमार्फत सरकारको ध्यानाकर्षण गराएपछि नेकपाका नेता, कार्यकर्ता र आम नागरिकमा नयाँ आशा पलाएको छ भने सँधैजस्तै अध्यक्ष प्रचण्डले राष्ट्रनायकको भूमिका निर्वाह गर्नुभएको छ ।