काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपालले कोरोना महामारीविरुद्व लड्न आफ्ना नेता तथा कार्यकर्तालाई विशेष निर्देशनसहितको परिपत्र जारी गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा मोर्चाको रूपमा रहेको संघले सोमबार ६ बुँदे निर्देशन जारी गर्दै कोरोनाविरुद्वको अभियानमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देश गरेको हो ।

राष्ट्रिय युवा संघ, नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलद्वारा संयुक्त हस्ताक्षरसहित जारीगरिएको परिपत्रमा सरकार तथा स्थानीय प्रशासनको अभियानमा सहयोग गर्न आग्रह गरिएको छ ।

परिपत्रमार्फत युवा संघले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनमा सहयोग गर्न निर्देशन गरिएको छ । परिपत्रमा आम नागरिकलाई घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न उत्प्रेरित गर्न आह्वान गरिएको छ ।

विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको परिप्रेक्ष्यमा युवा संघले आफ्ना नेता तथा कार्यकर्तालाई विदेशबाट आएका व्यक्तिको लगत संकलन गर्न र स्थानीय सरकारलाई जानकारी गराउन आग्रह गरेको छ । युवासंघले लकडाउनको कारण समस्यामा परेका श्रमिक वर्गलाई राहतको सहजीकरण मिलाउन पनि नेता तथा कार्यकर्तालाई निर्देश गरेको छ ।

संघले कोरोना संक्रमणसम्बन्धी चेतनामूलक प्रचार गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरिएको छ ।

National Youth Federation, Nepal Circular
राष्ट्रिय युवा संघ, नेपालको परिपत्र