काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क. वामदेव गौतमले सरकारले जारी गरेको लकडाउनलाई अनुशासितरुपले पालना गर्न आग्रह गरेका छन् ।
पार्टी उपाध्यक्ष क. गौतमले आफू पनि घरकै क्वारेनटाइनमा बसेको भन्दै जनताहरुलाई घरमै सुरक्षित भई बस्न आग्रह गर्नुभएको छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएको निर्देशनलाई इमान्दारिताका साथ पालना गर्न उपाध्यक्ष क. गौतमले आग्रह गर्नुभयो ।
उहाँले आफू नियमित रूपमा बर्दियाका जिल्ला प्रमुख जिल्ला अधिकारीसँग सम्पर्कमा रहेको र बर्दिया जिल्लाको अवस्थाको बारेमा जानकारी लिइरहेको बताउनुभयो ।
क. गौतमले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन ल्याब टेस्टका लागि नेपालगञ्जलाई पनि सेन्टर बनाउने, पिपिई, एन-९५ मास्क, भिटिएम, इन्फ्रारेड थर्मोमिटर, सेनिटाइजर, सर्जिकल मास्क र पञ्जा लगायत अन्य सामाग्रीहरु बर्दिया जिल्लालाई पनि उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको जानकारी दिनुभयो ।