काठमाडौँ । राष्ट्रिय किसान सञ्जाल, नेपालले लकडाउनका कारण प्रभावित किसानहरूलाई राहत दिन नेपाल सरकारसँग माग गरेको छ । सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।
राष्ट्रिय किसान सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन स्वागतयोग्य भएपनि त्यसले किसानहरूको उत्पादन र विक्रि/वितरणमा समस्या सिर्जना गरेकोले किसान सञ्जालको ध्यानाकर्षण भएको बताउँदै किसानहरूलाई लक्षित गरी तत्काल राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरिएको छ ।
आज जारी गरिएको विज्ञप्तिमा “कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको र नेपालमा यसलाई नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको कुरा यहाँहरु सबैलाई अवगत नै छ । कोरोना भाइरसको महामारी रोक्न नेपाल सरकारले लकडाउन गर्नु स्वागतयोग्य भएपनि यसले किसानहरुलाई हिउँदे बालीहरु भित्राउन र चैते धान तथा ग्रीष्मकालीन तरकारीहरु लगाउन, दुध, अण्डा, तरकारीहरुको विक्रि/वितरण र कृषिका लागि मल, बिउ, दाना, चारा लगायत अत्यावश्यक सामग्रीहरुको उपलब्धतामा समस्या सिर्जना हुन गएकोले राष्ट्रिय किसान सञ्जालको गम्भीर ध्यानाकर्षण भएको छ,” उल्लेख छ ।
देशका मुख्य किसान महासंघ/संघ/संगठनहरुको साझा सञ्जालको रुपमा ती सबै संगठनहरुको तर्फबाट राष्ट्रिय किसान सञ्जाल नेपालको राष्ट्रिय कार्यान्वयन समितिले “यथाशक्य छिटो लकडाउनबाट प्रभावित किसानहरुलाई राहतका कार्यक्रमहरु घोषणा गर्न, किसानहरुले उत्पादित बाली र अन्य कृषि उपजहरुको विक्रि वितरणको वातावरण तयार गराउन र दाना, चारा, मल, बिउ लगायतका कृषिका लागि आवश्यक सामग्रीहरुको सुलभ रुपले उपलब्ध गराउन नेपाल सरकारसँग जोड्दार माग” गरेको छ ।
राष्ट्रिय किसान सञ्जाल नेपाल देशका मुख्य किसान संघठनहरूको साझा सञ्जाल हो । यसमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग निकट नेपाल किसान संघ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघका साथै सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ, राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ, महिला किसान संघ नेपाल, अखिल नेपाल कुखुरापालक किसान संघ, युवा किसान संघ नेपाल, नेपाल पर्माकल्चर समूह, अखिल नेपाल पशुपालक किसान संघ, तरकारी उत्पादक किसान संघ, दुग्धउत्पादक किसान संघ, केन्द्रीय चिया सहकारी संघ, नयाँ अभियान कृषि सहकारी संस्था र अभियान लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरका सदस्यको रूपमा रहेका छन् भने प्रादेशिक र स्थानीय स्तरमा यसका अरू धेरै सदस्य रहेका छन् ।
किसान सञ्जालले सम्पूर्ण किसानहरूलाई लकडाउनको पालना गर्न र कोरोना भाइरसबाट आफू जोगिनुका साथै अरुलाई जोगाउन आवश्यक सतर्कता अपनाउन पनि अपील गरेको छ ।
विज्ञप्तिको पूर्णपाठः
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको र नेपालमा यसलाई नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको कुरा यहाँहरु सबैलाई अवगत नै छ । कोराना भाइरसको महामारी रोक्न नेपाल सरकारले लकडाउन गर्नु स्वागतयोग्य भएपनि यसले किसानहरुलाई हिउँदे बालीहरु भित्राउन र चैते धान तथा ग्रीष्मकालीन तरकारीहरु लगाउन, दुध, अण्डा, तरकारीहरुको विक्रि÷वितरण र कृषिका लागि मल, बिउ, दाना, चारा लगायत अत्यावश्यक सामग्रीहरुको उपलब्धतामा समस्या सिर्जना हुन गएकोले राष्ट्रिय किसान सञ्जालको गम्भीर ध्यानाकर्षण भएको छ ।
देशका मुख्य किसान महासंघ/संघ/संगठनहरुको साझा छाता सञ्जालको रुपमा ती सबै संगठनहरुको तर्फबाट राष्ट्रिय किसान सञ्जाल नेपाल, राष्ट्रिय कार्यान्वयन समिति यथाशक्य छिटो लकडाउनबाट प्रभावित किसानहरुलाई राहतका कार्यक्रमहरु घोषणा गर्न, किसानहरुले उत्पादित बाली र अन्य कृषि उपजहरुको विक्रि वितरणको वातावरण तयार गराउन र दाना, चारा, मल, बिउ लगायतका कृषिका लागि आवश्यक सामग्रीहरुको सुलभ रुपले उपलब्ध गराउन नेपाल सरकारसँग जोड्दार माग गर्दछ ।
यसका साथै सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरु एवम् आम जनसमुदायलाई लकडाउनको पालना गर्न र कोरोना भाइरसबाट आफू जोगिनुका साथै अरुलाई जोगाउन आवश्यक सतर्कता अपनाउन हार्दिक अपील गर्दछौँ ।
हार्दिक अभिवादन सहित ।
नहेन्द्र खड्का
संयोजक