काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चालेका कदमहरूलाई सहयोग गर्न अपिल गर्नुभएको छ ।
आज कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीको सन्दर्भमा देशबासीको नाममा सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनु भएको हो ।
भिडियो सन्देश मार्फत राष्ट्रपति भण्डारीले भन्नुभयो “आज मानजातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ । संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन ।”
उहाँले कुनै भावनामा बगेर नभई यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा सबै नेपालीले नेपाल सरकारले चालेका कदममा साथ दिन उहाँले विशेष आह्वान गर्नुभयो ।
उहाँले अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिए पनि बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको बताउँदै सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गएको र फैलन नपाएको उल्लेख गर्नुभयो । साथै सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्नेमा पनि जोड दिनुभयो ।
लकडाउनले गर्दा दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भए पनि आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन संयमित भएर घर बाहिर ननिस्कन पनि उहाँले अपिल गनुभएको छ ।
राष्ट्रपति भण्डारीले, “यस्तो महामारीको बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीहरू लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको धैर्यताको उच्च सम्मान गर्दछु,” भन्दै “तपाईँहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहने” बताउनुभएको छ ।
मार्मिक सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले यतिबेला हाम्रो आकाश निर्मल र निलो देखिएको भएपनि नोवल कोरोना भाइरसका कारण सिङ्गो धर्ती युद्धमैदान जस्तै भएको महशुस भएको जिकिर गर्नुभयो ।
उहाँले कोरोना भाइरस विरुद्धको यस लँडाइमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेमा विश्वास जाहेर गर्दै कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो भने यस महामारी विरुद्धको लडाइँमा आ-आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थाहरूलाई हार्दिक आह्वान पनि गर्नुभयो ।
सम्बोधनको अन्तमा नेपालको इतिहासका प्रथम महिला राष्ट्रपति तथा द्वित्तीय राष्ट्रपति भण्डारीले सम्पूर्ण राष्ट्र एकजुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि अवश्य विजय हासिल गर्न सकिनेछ भन्ने विश्वास सहित सम्पूरण देशबासीको सुस्वास्थ्यको कामना गर्नुभयो ।
यो पनि पढ्नुहोस्ः
कोरोना भाइरस महामारीको सन्दर्भमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनको पूर्णपाठ