काठमाडौँ । अपाङ्गता भएका नागरिकहरूको साझा छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले कोभिड-१९को सन्दर्भमा स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विशिष्ट आवश्यकतामा ध्यान पुर्याउन तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्य गरेको हो ।
महासंघका महासचिवद्वारा हस्ताक्षरित कोरोना भाइरस सन्दर्भमा जारी प्रेस विज्ञप्तिमा कोभिड १९ कोरोना भाइरस संक्रमणसँग विश्व संघर्ष गरिरहेको बताउँदै सम्पूर्ण नेपाली नागरिक, अपाङ्ता भएका व्यक्तिहरु हाल कोरोना भाइरसबाट उत्पन्न महामारीसँग लडिरहेको यस घडीमा नेपाल सरकारले नागरिकहरुको जीवनरक्षाका लागि गरिरहेको प्रयासका लागि राष्ट्रिय अपाङ्ग महासंघ, नेपालको तर्फबाट हार्दिक धन्यवाद दिँदै सम्पूर्ण नागरिकहरुलाई धैर्यधारण गर्न अपिल गरेको छ ।
विज्ञप्ति मार्फत महासंघले “स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विशिष्टीकृत आवश्यकतामा ध्यान नपुगेकोप्रति तिनै तहका सरकार समक्ष राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सम्बद्ध सबैको ध्यानकर्षण गराउँदै अबका कार्यहरुमा ध्यान पुगोस् ।”
महासंघले यस संकटको घडीमा सरकारले सामाजिक संरक्षण तथा राहत प्याकेजका स्वागतयोग्य कार्यक्रमहरु पनि घोषणा गरेको बताउँदै अपाङ्गता भएका र अन्य जोखिमयुक्त समुदायसम्म प्रभावकारी ढंगले पुग्ने र पुर्याउने कुरामा विश्वास समेत जाहेर गरेको छ ।
महासंघले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि संघीय सरकारले नेतृत्व लिएको देखिए पनि प्रदेश र स्थानीय सरकारको भूमिका बिना संघीय सरकारले मात्र सबै काम फत्ते गर्न कठिन हुने भन्दै हाल प्रदेश र स्थानीय सरकारले गरेका सह्रानीय कार्यहरुको स्वागत गर्दै आफ्ना सुझावहरू पेश गरेको छ ।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठः
कोभिड १९ कोरोना भाइरस संक्रमणसँग विश्व संघर्ष गरिरहेको छ । संक्रमणको महामारीले यो प्रेस विज्ञप्ति तयार गर्दासम्म ३९,१०५ भन्दा बढीको मृत्यु ८,०२,७३६ भन्दा बढी संक्रमित देखिएका छन् । सम्पूर्ण नेपाली नागरिक, अपाङ्ता भएका व्यक्तिहरु हाल कोरोना भाइरसबाट उत्पन्न महामारीसँग लडिरहेको र यस घडीमा नेपाल सरकारले नागरिकहरुको जीवनरक्षाका लागि गरिरहेको प्रयासका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट हार्दिक धन्यवाद दिँदै, सम्पूर्ण नागरिकहरुलाई धैर्यधारण गर्न अपिल गर्दछ । यस संकटको घडीमा सरकारले सामाजिक संरक्षण तथा राहत प्याकेजका स्वागतयोग्य कार्यक्रमहरु पनि घोषणा गरेको छ । तर अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, दीर्घरोगी बिरामी, गर्भवति तथा सुत्केरी महिला, बेसहारा बालबालिका, अभिभावकबिहीन बालबालिका र शिशुका लागि र मजदुरहरु, सुकुम्बासी, यौनिक तथा लैंगिक अल्पसंख्यक वर्ग समुदायसम्म प्रभावकारी ढंगले पुग्ने र पुर्याउने कुरामा विश्वास छ ।
कोरोना संक्रमण रोकथाम र न्यूनीकरणको संघीय सरकारले नेतृत्व लिएको देखिए पनि प्रदेश र स्थानीय सरकारको भूमिका बिना संघीय सरकारले मात्र सबै काम फत्ते गर्न कठिन हुन्छ । हाल प्रदेश र स्थानीय सरकारले गरेका सह्रानीय कार्यहरुको स्वागत गर्दै,
स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विशिष्टीकृत आवश्यकतामा ध्यान नपुगेकोप्रति तिनै तहका सरकार समक्ष राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै अबका कार्यहरुमा ध्यान पुगोस् भनी देहायको अनुरोध गर्दछ ।
◊ लकडाउनको अवधि लम्बिएसँगै देशभर ६ वटा प्रदेशका विभिन्न आवासीय पुनर्स्थापना केन्द्र, विशेष विद्यालय, छात्राबास, निजी छात्रबास, व्यावसायिक तालिम केन्द्रमा लगायतका ठाउँहरुमा सामूहिक आवासीय रुपमा बसोबास गरिरहेका १,२८९ जना अत्यावश्यक स्वास्थ्य र हाइजिनसँग सम्बन्धित डाइफर, सिआइसि (प्लेन) क्याथेटर, फोलि (Folly) क्याथेटर, कण्डम क्याथेटर, युरिन ब्याग, जाइलोकोन जेली, सेनेटरी प्याड, ह्याण्ड ग्लोब (स्वास्थ्यकर्मीले प्रयोग गर्ने जस्ता रबरका सेता पन्जा) प्रयोगकर्ताहरुलाई उक्त सामानको अभावमा दैनिक जीवन कठिन भइरहेको छ । त्यसैले उक्त सामानहरुको उपलब्धता र वितरणको व्यवस्था गर्नुपर्ने ।
◊ राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले अपाङ्गता भएका व्यक्ति तथा सम्बन्धित सबै सरोकारवालाहरूका लागि कोभिड–१९को महामारी विरूद्ध अपाङ्गता समावेशी प्रतिकार्यका लागि तयार गरेको सामान्य मार्गदर्शन सम्बद्ध सबैले कार्यान्वयन गर्नु पर्ने ।
◊ करिब ६००भन्दा माथिको संख्यामा रहेका हेमोफेलिया अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने फ्याक्टर-औषधी विदेशबाट आउने गरेकोमा अन्तर्राष्ट्रिय उडानहरु लामो समयका लागि रोक लगाएसँगै यतिबेला सेवा दिने निकायहरुसँग समेत मौज्दात शुन्य अवस्थामा रहेको हुँदा यथाशीघ्र फ्याक्टरको व्यवस्था गर्नुपर्ने ।
◊ कोरोना भाइरसको संक्रमण र यसबाट बच्न हरेक व्यक्तिले अपनाउनुपर्ने उपायहरूको बारेमा उत्पादन गरिएको जनचेतनामूलक सूचनाहरूलाई सांकेतिक भाषा, अडियो, भिजुअल, सचित्र र सरल भाषाको प्रयोग गरेर सबैको पहुँच हुनेगरी पटक-पटक प्रवाह गर्नुपर्ने ।
◊ अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिकाहरुको प्रत्यक्ष हेरचाह तथा स्याहारमा कार्यरत अभिभावक सहयोगीहरुलाई रोगको संक्रमण हुन नदिने सरसफाइ र सावधानीबारे जनचेतनामूलक सूचनाहरू प्रबाह गर्नुपर्ने । (जस्तै: ह्विलचियर प्रयोगकर्ताको ह्विलचियरको बाहिरी रिङ्गबाट सेतो छडी प्रयोगकर्ताको सेतो छडी सांकेतिक भाषाको माध्यमबाट कुरा गर्दा पटक-पटक हात नाक-मुख नजिक पुर्याउनु पर्ने हुन्छ । त्यसैले जोखिम बढी हुन्छ ।)
◊ क्वोरेन्टाइन जोनको भौतिक अवस्था, शौचालय र त्यहाँ उपलब्ध गराइने अन्य सेवा सुविधाहरू ह्विलचियर प्रयोगकर्ता, बैशाखी प्रयोगकर्ता, दृष्टिविहीन व्यक्ति, बौद्धिक अपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त बनाइनुपर्ने वा उनीहरूको आवश्यकतालाई ध्यान दिनुपर्ने ।
◊ आइसोलेसन वार्डहरूको भौतिक अवस्था, शौचालय र त्यहाँ उपलब्ध गराइने अन्य सेवा सुविधाहरू ह्विलचियर प्रयोगकर्ता, बैशाखी प्रयोगकर्ता, दृष्टिविहीन व्यक्ति, बौद्धिक अपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त हुनु पर्ने ।
◊ क्वारेन्टाइनमा रहेको अवस्थामा वा कोही अपाङ्गता भएको व्यक्ति संक्रमित भएको कारणले आइसोलेसनमा राख्दा यदि उसले आफ्नो शारीरिक वा मानसिक अवस्थाको कारण कुनै नियमित औषधी सेवन वा प्रयोग गरिरहेको, कुनै स्वास्थ्य सम्बन्धी उपकरण वा सामग्री प्रयोग गरिरहेको भएमा सो कुरा नियमित हुने व्यवस्था मिलाउनुपर्ने ।
◊ क्वारेन्टाइन जोन वा आइसोलेसन वार्डहरूमा प्रवाह गरिने सूचनाहरू बहिरा व्यक्ति, दृष्टिविहीन व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति लगायत सबैको पहुँच हुनेगरी सांकेतिक भाषा, ब्रेल, अडियो, चित्र र पढ्न बुझ्न सबैलाई सहज हुने भाषा र विधिबाट उपलब्ध गराउनु पर्ने ।
◊ पूर्ण र अति अशक्त (रातो परिचयपत्र र निलो परिचयपत्र भएका) अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष प्राथमिकता साथ सुविधाहरू उपलब्ध गराउनुपर्ने र उनीहरूका लागि औषधी, उपचार लगायत भाइरसको संक्रमणबाट सुरक्षित रहन यस्तो अवस्थामा हुने थप खर्चको भारलाई विचार गरी सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने ।
◊ यदि बहिरा वा सुनाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूमा संक्रमण भएर क्वारेन्टाइन र आइसोलेसन वार्डहरूमा राखेर सेवा दिनुपर्ने अवस्थामा आवश्यकता अनुसार सांकेतिक भाषा दोभाषेको व्यवस्था गर्ने ।
◊ अपाङ्गता भएका व्यक्तिहरूमा संक्रमण देखिएको कारणले आइसोलेसनमा राख्नुपर्दा उनीहरूको अवस्था अनुसार चाहिने उपयुक्त अनुकुलता, सहायक सामग्री, सहयोगी सेवा उपलब्ध गराउनुपर्ने ।
राजु बस्नेत
महासचिव