काठमाडौँ । मुस्लिम आयोगले लकडाउनलाई पूर्ण रुपमा प्रभावकारी तुल्याउन मस्जिद, मद्रसा र मुसाफिरखानाहरू अविलम्ब खाली गर्न प्रेस विज्ञप्तिमार्फत् विशेष अपिल गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्वारा हिजो चैत्र २३ गते जारी गरिएको विज्ञप्तिमार्फत आयोगले देशभरका मुसलमानहरूलाई ६ बुँदे सुझाव प्रस्तुत गर्दै गम्भीर रुपमा पालना गर्न पनि आह्वान गरेको छ ।
मुस्लिम आयोग नेपालका मुस्लिम (मुसलमान) समुदायका हक, हित र अधिकार रक्षाका लागि ‘नेपालको संविधान’मा व्यवस्था भएअनुसार गठन गरिएको संवैधानिक आयोग हो ।
तब्लीग जमातका केही समूहहरू विभिन्न जिल्लाका मस्जिदहरूमा बसिरहेको बेला लकडाउन घोषणा भई टाढाबाट आएका जमातहरू सोही मस्जिदहरूमा फसेकाले उनीहरू हालसम्म सोही मस्जिदहरूमा बसिरहेको समाचार आउन थालेपछि आयोगको चासो बढेको हो । कतिपय विदेशी जमातीहरूसमेत देशका विभिन्न मस्जिदहरूमा रहेको कुरा जानकारीमा आएपछि आयोगको थप ध्यानाकर्षण भएको हो ।
लकडाउन घोषणा भएपछि कतिपय मद्रसाका छात्रहरू घर फर्कन नसक्दा मद्रसामा रहेका छात्रवासहरूमै फसेको हुनसक्ने आशंका गर्दै आयोगले त्यस्तो अवस्था भएको खण्डमा सो छात्रहरूको वैकल्पिक व्यवस्थाका लागि पहल गर्न गम्भीर भएको छ । आयोगले कतिपय मुस्लिमहरू मुसाफिरखानाहरूमा समेत हुन सक्ने आशंका गरेको छ ।
मुस्लिम आयोगको प्रेस विज्ञप्तिको पूर्ण पाठः
कोरोना भाइरसले विश्वभरि निम्त्याएको विपदमा नेपाल सरकारले लकडाउन जारी राखेको आज १३औँ दिन बितिरहेको छ । यस दौरान कोरोना संक्रमण र लकडाउनसँग सम्बन्धित मुस्लिम समुदायसँग जोडिएर केही महत्त्वपूर्ण कुराहरू सामुन्ने आएका छन् । त्यसतर्फ मुस्लिम आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ, देशभरका सम्पूर्ण मुसलमान दाजुभाइ तथा दिदीबहिनीहरूलाई देहायका विषयमा गम्भीर हुन यस प्रेस विज्ञप्तिमार्फत् हार्दिक अनुरोध गर्दछु ।
१. एमाम, मोअज्जीन र आवश्यक कर्मचारीबाहेक कुनै पनि व्यक्तिलाई मस्जिदभित्र बस्न न दिनुहोस् । कुनै व्यक्ति कुनै कारणले मस्जिदभित्र बसेको छ भने तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी वैकल्पिक व्यवस्था मिलाउनुहोस् ।
२. कतिपय मद्रसाका छात्रहरू लकडाउन सुरु भएपछि घर फर्कन नसकेका हुन सक्दछन् । कुनै पनि मद्रसा, छात्रवास वा मुसाफिरखानामा आवश्यक कर्मचारीबाहेक छात्रछात्रासमेत कुनै पनि व्यक्तिलाई बस्न नदिनुहोस् । तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी वैकल्पिक व्यवस्था मिलाउनुहोस् ।
३. तब्लीग जमातका जिम्मेवार व्यक्तिहरूलाई विशेष अनुरोध गर्दछु कि लकडाउनभन्दा पहिले कुनै पनि मस्जिदमा जमात आएको रहेछ र जमातीहरू त्यहीँ फसेका रहेछन् भने तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी वैकल्पिक व्यवस्था मिलाउनुहोस् ।
४. मस्जिदहरूमा एमाम, मोअज्जीन र आवश्यक कर्मचारीहरूले मात्र नमाज अदा गर्नुहोस् ।
५. जुमाको नमाजको सट्टा आ-आफ्नै घरमा जोहरको नमाज अदा गर्नुहोस् ।
६. सरकारले आह्वान गरेको लकडाउन आदेश पूर्ण रूपमा पालना गर्नुहोस् ।
समिम मियाँ अन्सारी
अध्यक्ष