काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारले देशभर लागु गरेको लकडाउनका कारण किसानहरूको उत्पादन निर्वाध रूपमा उपभोक्ताहरूको बिचमा पुर्याउन समस्या भएको भन्दै तत्काल आवश्यक पहल गर्न सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको छ ।
समितिका सदस्य सांसदहरूसँगको परामर्शपश्चात समितिका सभापति पूर्णकुमारी सुवेदी ‘शीला’द्वारा कृषि तथा पशुपन्छी विकास मन्त्रलय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई त्यसरी निर्देशन भएको हो ।
लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै सभापति सुवेदीले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा नफैलियोस् भनेर नेपाल सरकारले देशभर लागु गरेको बन्दाबन्दी (लकडाउन) को अवस्थामा नेपाली कृषकहरुको उत्पादन निर्वाध रुपमा उपभोक्ता समक्ष पुग्न समस्या भएकोले समितिको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सरोकारवाला कृषि तथा पशुपन्छी विकास मन्त्रलय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई त्यसबारे आवश्यक निर्देशन दिइएको बताउनुभयो ।
सभापति सुवेदीका अनुसार दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था भएको हुँदा सुरक्षित तरिकाले दूध संकलन एवम् बिक्री गर्ने प्रबन्ध तत्काल गर्नुपर्ने र दूधको उपभोक्ता विषेश परिस्थितिले गर्दा कम वा बजारसम्म बाहिर ननिस्किँदा दूध खपत नहुने अवस्था भएकोमा उत्पादित दूध पाउडर बनाउने प्रयोजनका लागि उद्योगमा पठाउने व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराइएको बताउनु भयो ।
उहाँले कैलाली जिल्लाको टिकापुर र चितवन लगायतका केरा उत्पादक किसान तथा अन्य देशैभरका किसानहरुलाई हालैका दिनमा परेका समस्याहरुको स्मरण गर्दै भन्नुभयो, “कुखुरा, अण्डा, माछामासु, तरकारी, फलफूल उत्पादक किसानहरुलाई देशभर लागु गरेको बन्दाबन्दी (लकडाउन) बाट पुगेको क्षति अपूरणीय रहेको छ । एकातर्फ किसानबाट उत्पादित कृषिजन्य पदार्थको पहुँच बजारसम्म हुन सकेको छैन भने अर्कोतर्फ उक्त वस्तुहरु उपभोक्ताहरुले सहज रुपमा पाउन नसकेको अवस्था छ । तसर्थ किसानबाट उत्पादित कृषि सामग्रीहरु सुरक्षित रुपमा तत्काल बजारमा पुर्याउने व्यवस्थाका लागि” मन्त्रालयहरूलाई निर्देशन गर्ने काम भएको छ ।