काठमाडौँ । निवर्तमान सभामुख तथा प्रभावशाली नेता क. कृष्णबहादुर महरा ले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएको र देश लकडाउनमा रहेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य भएको बताउनु भएको छ ।
नेपाली राजनीतिमा शालिन तथा राष्ट्रवादी नेताको छवी बनाउनु भएका दाङका प्रतिनिधि सभा सदस्य क. महराले एक प्रेस वक्तव्य जारी गर्दै मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निराश बनेको उल्लेख गर्दै यस्तो जटिल अवस्थामा दलहरु बिच एकता र सहकार्य हुनपर्ने, र दलहरुको बिचमा आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
क. महराको प्रेस वक्तव्यः
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको छ। कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ। देश अहिले लकडाउनको अवस्थामा छ। अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ।
अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो। मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिँदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न म हार्दिक अपिल गर्दछु।
१७ बैशाख, २०७७
कृष्णबहादुर महरा
पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य, दाङ