प्रचण्ड, puspa kamal dahal, chairman prachanda,
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ।

आज बेपत्ता स्मृति दिवसको सन्दर्भमा एक वक्तव्य जारी गर्दै दश वर्षे युगान्तकारी महान जनयुद्धका सुप्रिम कमाण्डर क. प्रचण्डले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको पनि बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिस्ट क्रान्तिकारीहरुको जिम्मेवारी भएको उल्लेख गर्दै यस सन्दर्भमा आफ्नो पार्टीले बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ।

उहाँले बेपत्ता योद्धाका योगदानको बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्नतिहरुको शिक्षा-दीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डको वक्तव्यको पूर्णपाठः

महान् जनयुद्ध, ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा छ । महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो । यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहो-याउँछ ।

अन्त्यमा, बेपत्ता योद्धाका योगदानको बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्नतिहरुको शिक्षादीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ता योद्धाहरुप्रति फेरि एकपटक उच्च सम्मान व्यक्त गर्दछ, धन्यवाद ।

७ जेठ, २०७७

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष