जुगेडी, किसान संघर्ष दिवस, शहीद, दशरथ चेपाङ, सन्तबहादुर प्रजा, dashrath, sant bahadur chepang
 

काठमाडौँ । अखिल नेपाल किसान महासंघले नेपाली किसानहरुको वर्गीय मुक्ति र कृषि क्रान्तिको दिशामा महान शहीदहरुले देखाएको बाटोमा अविछिन्न रुपले निष्ठापूर्वक संघर्षरत तथा प्रयत्नरत रहिरहने र उहाँहरुका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले आज ‘किसान संघर्ष दिवस’ तथा ३३औँ जुगेडी किसान संघर्ष स्मृति दिवसका उपलक्ष्यमा एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताएको हो ।

देशको सबैभन्दा विशाल किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघका संयोजक क. हरि पराजुली र सहसंयोजक क. चित्रबहादुर श्रेष्ठको संयुक्त हस्ताक्षरसहित जारी गरिएको प्रेस वक्तव्यमा अखिल नेपाल किसान महासंघले आफ्नो स्थापना कालदेखि नै देशव्यापी रुपमा किसानहरुमाथि हुने गरेको सामन्ती शोषण तथा उत्पीडनको विरुद्ध एवम् किसानहरुको हक, हित र अधिकारको पक्षमा विभिन्न किसान विद्रोहहरु तथा संघर्षहरुको नेतृत्व गर्दै आइरहेको बताउँदै २०३४ असार ६ गते चितवनको जुगेडीमा किसानहरुले गरेको ऐतिहासिक तथा बलिदानीपूर्ण संघर्ष नेपाली किसान आन्दोलनको इतिहासमा स्वर्ण अक्षरहरुमा लिपिबद्ध भएको जनाएको छ ।

वक्तव्यको पूर्ण पाठः

अखिल नेपाल किसान महासंघले आफ्नो स्थापना कालदेखि नै देशव्यापी रुपमा किसानहरुमाथि हुने गरेको सामन्ती शोषण तथा उत्पीडनको विरुद्ध एवम् किसानहरुको हक, हित र अधिकारको पक्षमा विभिन्न किसान विद्रोहहरु तथा संघर्षहरुको नेतृत्व गर्दै आइरहेको कुरा सबैलाई अवगत नै छ । सोही क्रममा २०३४ असार ६ गते चितवनको जुगेडीमा किसानहरुले गरेको ऐतिहासिक तथा बलिदानीपूर्ण संघर्ष नेपाली किसान आन्दोलनको इतिहासमा स्वर्ण अक्षरहरुमा लिपिबद्ध भएको छ । नेपाली किसानहरुका ऐतिहासिक संघर्षहरुको प्रतीकात्मक रुपमा नेपालका क्रान्तिकारी किसानहरुले आजको दिनलाई ‘किसान संघर्ष दिवस’ तथा ‘जुगेडी किसान संघर्ष स्मृति दिवस’को रुपमा मनाउँदै आएको कुरा स्मरण गराउँदै ऐतिहासिक जुगेडी किसान संघर्षको ४३ औँ वर्षगाँठका अवसरमा सो ऐतिहासिक संघर्षमा शहादत प्राप्त गर्ने क. दशरथ चेपाङ र क. सन्तबहादुर प्रजाका साथै किसान संगठनको स्थापना कालदेखि हालसम्मका ऐतिहासिक किसान विद्रोहहरु र संघर्षहरुमा बलिदान गर्ने सम्पूर्ण किसान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै, हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघको तर्फबाट नेपाली किसानहरुको वर्गीय मुक्ति र कृषि क्रान्तिको दिशामा महान शहीदहरुले देखाएको बाटोमा अविछिन्न रुपले निष्ठापूर्वक संघर्षरत तथा प्रयत्नरत रहिरहने र उहाँहरुका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

हार्दिक क्रान्तिकारी अभिवादन सहित ।

हरि पराजुली
संयोजक

चित्रबहादुर श्रेष्ठ
सहसंयोजक