काठमाडौँ । अखिल नेपाल किसान महासंघले १७औँ ‘राष्ट्रिय धान दिवस’, परम्परागत रूमपमा मनाइँदै आएको ‘दही-चिउरा खाने दिवस (असार-१५)’ र ‘किसान दिवस’को उपलक्ष्यमा धान उत्पादकसहित सबै किसानहरूलाई शुभकामना प्रदान गर्दै धान किसानहरूको संरक्षणका लागि सरकारसँग जोडदार माग गरेको छ ।
मुलुकको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले १७औँ ‘राष्ट्रिय धान दिवस’, ‘असार-१५’ र ‘किसान दिवस’को उपलक्ष्यमा एक प्रेस वक्तव्य जारी गर्दै धान नेपाली किसानहरुको जीवन, जीविका र संस्कृतिको अभिन्न हिस्साको रुपमा रहेको र यसको विकास र सम्बर्द्धनमा उनीहरुको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेको छ ।
किसान महासंघका संयोजक क. हरि पराजुली र सहसंयोजक क. चित्रबहादुर श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षरित सो वक्तव्यमा किसान महासंघले धान नेपाल सरकारको प्राथमिकतामा पर्न नसकेकोले नेपाली धान किसानहरु गम्भीर समस्यामा पर्दै आएको जनाउँदै नेपाल सरकारसमक्ष धान किसानहरुको संरक्षण र उत्पादनमा बृद्धि गर्ने, उच्च उत्पादनयुक्त जातहरुको विकास गर्ने, धान किसानहरुलाई यान्त्रीकरण, व्यावसायिक तथा बिउ उत्पादनका लागि अनुदानको व्यवस्था गर्ने र उत्पादित धानलाई उपयुक्त मूल्यमा धान उत्पादनलगत्तै (असार–साउन र मंसिर–पुस)मा खरिद गर्ने संयन्त्र तयार गरी किसानहरुको संरक्षण गर्ने र आयात प्रतिस्थापन गरी निर्यात प्रबर्द्धग गर्दै खाद्य सम्प्रभुताको दिशामा अगाडि बढ्नका लागि ठोस कार्यक्रमहरु ल्याउन जोड्दार माग गरेको छ ।
सत्तारुढ नेकपा निकट रहेको किसान महासंघले धान रोपाइँको समयमा कोरोना प्रभावित किसानहरुलाई थप पीडा थप्ने गरी धानको बिउ र अन्य बालीमा सलहको आक्रमण भएकोले सोलाई तत्काल नियन्त्रण गर्न र त्यसबाट हुन पुगेको क्षतिबाट पीडित किसानहरुलाई यथोचित राहत प्रदान गर्नका लागि तत्काल ठोस कदम चाल्न पनि माग गरेको छ ।
प्रेस वक्तव्यको पूर्ण पाठः
अखिल नेपाल किसान महासंघ
केन्द्रीय समिति
मितिः २०७७ असार १५ गते
प्रेस वक्तव्य
नेपाली किसानहरुको महान तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघको तर्फबाट १७ औँ राष्ट्रिय धान दिवसका साथै हरेक असार १५ गते परम्परागत रुपमा मनाइँदै आएको ‘दही–चिउरा खाने दिवस’ र किसानहरुले मनाउँदै आएको ‘किसान दिवस’ को उपलक्ष्यमा देशभरका धान उत्पादक किसानहरुका साथै सम्पूर्ण किसान समुदायमा उन्नति, प्रगति, कृषि क्षेत्रको विकास र किसान अधिकार प्राप्तिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
कृषिप्रधान देश नेपालका लागि उत्पादनको क्षेत्रफल र परिमाणका हिसाबले प्रमुख खाद्यबाली धान रहेको र समस्त नेपालीजनको प्रमुख आहार चामलसहितका धानजन्य वस्तु भएको कुरा सर्वविदितै छ । धान नेपाली बहुसंख्यक किसानहरुको प्रमुख उत्पादन हो भने नेपालको राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा धेरै प्रभाव पार्ने कृषिजन्य वस्तु पनि हो । नेपालीहरु जन्मेदेखि मृत्युपर्यन्तका सम्पूर्ण संस्कारहरुमा धान र धानजन्य वस्तुहरुको प्रयोग हुन्छ । धान रोपाइँ आफैमा एक पर्वसरी गरिन्छ भने धान रोप्दा र गोड्दा गाइने असारे, झ्याउरे र सालेजो गीतहरुको नेपाली संस्कृतिमा विशिष्ट स्थान रहेको छ । धानको ढुटो र पराल नेपालमा पालिने पशुपन्छी तथा वस्तुभाउका प्रमुख आहार हुन् । धेरै किसानहरुले धान बेचेर आफ्ना परिवारका आवश्यकताहरु धान्ने गरेका छन् । नेपाली किसानहरुले हजारौँ वर्षको मेहनत र विज्ञतामा आधारित हुँदै धानका ३,२०० भन्दा धेरै स्थानीय तथा रैथाने जातहरुको विकास र संरक्षण गरेका छन् ।
यसर्थ धान एकातिर नेपाली किसानहरुको जीवन, जीविका र संस्कृतिको अभिन्न हिस्साको रुपमा रहेको छ भने अर्कोतिर यसको विकास र सम्वर्द्धनमा उनीहरुको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ । यस्तो महत्त्वपूर्ण धान नेपाल सरकारको प्राथमिकतामा पर्न सकेको छैन । उच्च उत्पादनयुक्त तथा मसिना धानको विकासमा सरकारको पर्याप्त ध्यान पुगेको छैन । सिचाइँका योजनाहरु सोही अनुसार तर्जुमा भएका छैनन् । सरकारले समयमा धानको समर्थन मूल्य नतोक्ने, तोकेपनि सो मूल्य कार्यान्वयनका लागि खरिद गर्ने बाध्यकारी संयन्त्र स्थापना नगर्ने र विद्यमान खाद्य संस्थानले किसानको आवश्यकतामा भन्दा आर्थिक प्रलोभनमा परी गलत समयमा धानको खरिद–विक्रि गर्ने, असारमा भित्रिने सबैभन्दा उच्च उत्पादन संभावना बोकेको चैते धानमा कुनै ठोस कार्यक्रम नल्याउने, लागत कम हुने तर उत्पादन तथा उत्पादकत्वमा उच्चतम् बृद्धि गर्न सकिने सघन धान खेती प्रणाली (एसआरआई) र अन्य दिगो कृषि प्रविधिमा जोड नदिने जस्ता कार्यले नेपाली धान किसानहरु गम्भीर समस्यामा पर्दै आएका छन् ।
यसर्थ १७ औँ राष्ट्रिय धान दिवसको सन्दर्भमा हामी समस्त किसानहरुको तर्फबाट नेपाल सरकारलाई धान किसानहरुको संरक्षण र उत्पादनमा बृद्धि गर्ने, उच्च उत्पादनयुक्त जातहरुको विकास गर्ने, धान किसानहरुलाई यान्त्रीकरण, व्यावसायिक तथा बिउ उत्पादनका लागि अनुदानको व्यवस्था गर्ने र उत्पादित धानलाई उपयुक्त मूल्यमा धान उत्पादनलगत्तै (असार–साउन र मंसिर–पुस)मा खरिद गर्ने संयन्त्र तयार गरी किसानहरुको संरक्षण गर्ने र आयात प्रतिस्थापन गरी निर्यात प्रबद्र्धन गर्दै खाद्य सम्प्रभुताको दिशामा अगाडि बढ्नका लागि ठोस कार्यक्रमहरु ल्याउन जोड्दार माग गर्दछौँ ।
साथै, धान रोपाइँको समयमा कोरोना प्रभावित किसानहरुलाई थप पीडा थप्ने गरी धानको बिउ र अन्य बालीमा सलहको आक्रमण भएकोले सोलाई तत्काल नियन्त्रण गर्न र त्यसबाट हुन पुगेको क्षतिबाट पीडित किसानहरुलाई यथोचित राहत प्रदान गर्नका लागि तत्काल ठोस कदम चाल्न पनि माग गर्दछौँ ।
क्रान्तिकारी अभिवादन सहित ।
हरि पराजुली
संयोजक
चित्रबहादुर श्रेष्ठ
सहसंयोजक