काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा पूर्व सिँचाइमन्त्री क. उमेशकुमार यादवले अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नलिए पार्टी फुटाउने भनेर धम्की दिनेहरूलाई चुनौती दिँदै या त नयाँ राजाको शैली त्याग्न या भिड्न चुनौती दिनुभएको छ ।
हिजो सामाजिक सञ्जान फेसबुक मार्फत चुनौती दिँदै क. शंकर पोखरेल, क. सूर्य थापा, क. गोकुल बास्कोटाको घुर्की, धम्कीपूर्ण स्टाटसहरु पढेको र अरुले पनि क्रमशः गोकुलहरुजस्तै अझ उद्दण्डपूर्ण अभिव्यक्ति दिँदै जाने बताउनु भएको छ ।
उहाँले गणतन्त्र, संघीयता, समानुपातिक विरोधीरहेका यस्ता व्यक्तिहरूले कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको हत्याको छानबिनको बारेमा कहिल्यै नबोलेकोमा आक्रोश समेत व्यक्त गर्नुभएको छ ।
अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा भएको आन्दोलनको बलमा राजाको हली, गोठालाबाट मुक्त भएर क. प्रचण्डकै प्रस्ताव र सहयोगमा कमरेड क. केपी ओली २ पटक प्रधानमन्त्री बनेको कुरा स्मरण गराउँदै क. प्रचण्डलाई धम्काउन क. केपी ओली र उहाँ निकट भएकाहरूलाई लाज लाग्नुपर्ने उहाँको तर्क छ ।
सेक्युरिटी प्रेस प्रकरणमा २७ अरबको खरिदमा ७० करोड घुस माग्ने र २७ अरबलाई २८ अरब पुराउन लगाएर देशको अरबौँ रूपैयाँ भ्रष्टाचार गर्न खोजेको र अन्कुय विभिन्न योजनाहरूमा अरबौँ रूपैयाँ अनियमितता गरेको सार्वजनिक भएपछि सञ्चारमन्त्री पदबाट राजीनामा गर्न वाध्य भएका गोकुल बास्कोटाको क. प्रचण्डले ‘तनावको यात्रा गर्नुपर्ने’ भन्ने स्टाटसप्रति आक्रोश व्यक्त गर्दै ‘के भन्ने खोजेको’ भन्ने प्रश्न गर्नुभएको छ ।
प्रस्ताव फिर्ता नलिए संवाद समेत नहुने भन्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार तथा नेकपाका कनिष्ट केन्द्रीय सदस्य थापा लगायतलाई आफ्नो मण्डले तथा सर्वसत्तावादी चरित्र र नयाँ राजाको कार्यशैली परित्याग गर्न अथवा भिड्न चुनौती दिनु भएको छ ।
अध्यक्ष क. प्रचण्डको उदारता र क. केपी ओली लगायतमाथि उहाँले गरेको भ्रमपूर्ण विश्वासले मात्रै उनीहरू बोल्नसक्ने अवस्थामा रहेको र अध्यक्ष प्रचण्ड त्यस्ता वाहियात मानिसहरूको घेरामा परेको भन्दै अध्यक्ष प्रचण्डले बैठकमा प्रस्ताव पेश नगरे कहाँ गर्ने भन्ने प्रश्न गर्नुभएको छ ।
उहाँले स्थायी समिति, केन्द्रीय समितिको बैठक आयोजना गरेर पार्टीको आन्तरिक लोकतन्त्र र नयाँ आधारमा नयाँ एकतासहित मजबुद पार्टी निर्माण गर्न लाग्नुपर्ने बताउनुभएको छ ।
उहाँले सम्माननीय प्रधानमन्त्रीलाई भूमिगत गिरोहहरूको घेराबाट मुक्त गर्नुपर्ने प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीसँग पहिले सिँचाइमन्त्रीको रूपमा ९ महिना काम गर्दा धेरै सजिलो, अहस्तक्षेप, आत्मीय सहयोग पाएको दावी गर्दै त्यतिबेला यस्ता नवमण्डलेहरूको दबाबबाट उहाँ मुक्त भएकोले हुनसक्ने बताउनु भएको छ ।