स्वनाम साथी, Swanam Sathi, sonam sathi
 

काठमाडौँ । सुपरिचित नेपाली राष्ट्रवादी व्यक्तित्व, वामपन्थी नेता तथा समाजवादी अभियन्ता क. स्वनाम साथीको निधनमा एमसीसी खारेज अभियान नेपालले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक शोक वक्तव्य जारी गरेको छ ।

अभियानका संयोजक क. नारायण शर्माले आज जारी गर्नु भएको विज्ञप्तिमा क. स्वनाम साथी (शशी शेरचन) प्रति हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दै शोक संतप्त परिवारजनमा हार्दिक  समवेदना व्यक्त गर्नुभएको छ ।

शोक वक्तव्यको पूर्ण पाठः

MCC खारेज अभियान- २०७६, नेपाल

११ पौष २०७७

शोक-श्रद्धाञ्जली मन्तव्य !

नेपाली वामपन्थी कम्युनिस्ट आन्दोलनका एक उज्ज्वल नक्षेत्र कमरेड स्वनाम साथी (शशी शेरचन)को गए राति काठमाडौको मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँ गत असोजमा कोभिड-१९ को महामारीको प्रकोपबाट आक्रान्त हुनुभई कार्तिकमै मुक्त हुनु भएपनि निमोनियाले ग्रस्त हुँदा पाटन अस्पतालबाट काठमाडौँ मोडेल अस्पताल भर्ना हुनु भएको थियो । तर कोभिडलाई जिते पनि उहाँले अन्ततः निमोनियालाई जित्न सक्नुभएन र उहाँ हामीबाट सदाका लागि विदा भएर जानुभयो । उहाँप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली र लालसलाम । शोकाकुल उहाँकी सच्चा जीवनसाथी किरण गौतम लगायतका सम्पूर्ण परिवारजन र उहाँसम्बद्ध सम्पूर्ण संघ-संस्था, संगठन-प्रतिष्ठान र अभियान-आन्दोलनकर्मीसहित उहाँलाई चिन्ने, जान्ने र मान्ने सबैप्रति गहिरो समवेदना ।

एक अत्यन्तै ठुला विद्वान, त्यागी, तपस्वी, सच्चा, स्वच्छ र सादगी जनसेवी यशस्वी सन्त व्यक्तित्व कमरेड स्वनाम साथीको अकल्पनीय निधनको शोकले MCC खारेज अभियान र यसका अभियन्ताहरु अत्यन्तै मर्माहत र शोकसंतप्त भएका छौँ  । साथै, उहाँको यो निधनबाट हाम्रो यो अभियान मात्र होइन, नेपालको सिङ्गो वामपन्थी र सर्वहारावादी क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई असीमित क्षति भएको छ भने उहाँले वैचारिक, भावनात्मक र भौतिक नेतृत्व गरिरहनु भएका मार्क्सीय गुरुकुल, MCC खारेज अभियान, सीमा बचाऔँ अभियान, आयुर्वेद, योगा, प्रकृति तथा वातावरण संरक्षणलगायतका अन्य थुप्रै अभियान र संघसंस्थाहरु तथा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आन्दोलनहरुलाई असीमित र ठुलो क्षति पुगेको छ । अझ स्पष्ट भन्नुपर्दा कम्युनिस्ट पार्टी, आन्दोलन, समाज र राज्यमा आस्था-आदर्श, निष्ठा-नैतिकता, स्वच्छ्ता-निष्पक्षता, सत्यता-स्वाभिमान र स्वविवेक-स्वनिर्णय जस्ता मूल्य-मान्यताहरु स्थापित, विकसित र विस्तारित गर्ने महाभियानलाई अपूरणीय क्षति पुगेको महसुस भएको छ ।

हाम्रो र अझ मुख्यतः स्वनाम साथी कामरेडकै जीवन दर्शन द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद अनुसार पनि जीवन र मरणलाई स्वाभाविक, अनिवार्य र अपरिहार्य परिघटनाका रुपमा बुझ्ने; जस्तोसुकै क्षतिलाई पनि पूर्ति गर्ने र थप उपलब्धि प्राप्त गर्न संघर्षरत रहने तथा मृत्यु र क्षतिका कारण उत्पन्न शोकलाई शक्ति र साहसमा बदलेर पीडा सहन गर्ने, बेहोर्ने, बाँच्ने र बढ्ने प्राकृतिक र नैसर्गिक नियम अनुसार नै चल्नुपर्ने हामी सबैको विवसता हो ।

हामी स्वनाम साथीजस्ता महान् व्यक्तित्वका सहकर्मी, सहधर्मी, सहयोद्धा र सच्चा शिष्यहरु उहाँले राज्य र समाजको क्रान्तिकारी रुपान्तरणार्थ प्रतिपादन र अवलम्बन गर्नुभएका महान् विचार र आचारहरुको एवं उहाँका बलिदान र योगदानहरुको सदास्मरण गर्ने, तिनलाई जीवनदर्शनको रुपमा अनुसरण र कार्यान्वयन गर्ने अनि संरक्षण र सम्बर्द्धन गर्ने-गराउने दिशामा लागौँ । यही नै सच्चा कमरेड स्वनाम साथीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

हार्दिक श्रद्धासुमन र क्रान्तिकारी सलाम हाम्रा आदर्श गुरु, नायक र अभिभावक कमरेड स्वनाम साथी ! हामी सच्चा र स्वच्छ मालेमाका हिमायती सर्वहारावादी कम्युनिस्टहरुले यहाँलाई सदास्मरण गरिरहनेछौँ !!

नारायण शर्मा
संयोजक

स्वनाम साथी, नारायाण शर्मा, swanam sathi, narayan sharma
क. स्वनाम साथीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै क. नारायण शर्मा