काठमाडौँ । अखिल नेपाल किसान महासंघले आफ्ना केन्द्रीय समिति सदस्य तथा जुझारू महिला किसान नेतृ क. सुशीला कँडेल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदमना प्रकट गरेको छ । महासंघले उहाँको स्मृतिमा एक शोक वक्तव्य जारी गरेको छ ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय सहसंयोजकद्वारा जारी शोक वक्तव्यमा “अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा जुझारु महिला किसान नेतृ क. सुशीला कँडेलको यही मिति २०७७ फागुन १३ गते कलेजोको क्यान्सरका कारणले भएको असामयिक निधनले सिंगो संगठनलाई दुःखी तथा भावविव्हल बनाएको” उल्लेख गर्दै “नेपाली किसान आन्दोलनका एक प्रतिभावान तथा सक्रिय योद्धा एवम् नर्सरी व्यावसायी किसानको रुपमा लोकप्रिय किसान नेतृ क. सुशीला कँडेल प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ” भनिएको छ ।
शोक वक्तव्यमा, “एउटा शिक्षित महिला भएर पनि कृषि पेशामा लगनशील भएर लाग्नुभएकी क. सुशीला कँडेल एक जुझारु तथा क्रान्तिकारी किसान नेतृ हुनुहुन्थ्यो” भएको बताउँदै “योजना निर्माणमा दख्खल राख्ने र बनाएको योजना लागू गर्न अहोरात्र खटिने क. सुशीला कँडेल २०५३ सालदेखि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाट राजनीतिमा प्रवेश गर्नुभएको कुरा उल्लेख गरिएको छ ।
२०५७ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को रामेछाप जिल्ला सदस्यको रुपमा राजनीतिमा सक्रिय हुँदै अघि बढ्नुभएकी क. सुशीला कँडेल २०७३ सालदेखि अखिल नेपाल महिला किसान संघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य र २०७६ सालदेखि अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ अन्तर्राष्ट्रिय किसान आन्दोलन – ला भिया क्याम्पेसिना – को प्रवासी श्रमिकहरु सम्बन्धी आयोगमा अखिल नेपाल किसान महासंघको प्रतिनिधित्व गर्नुहुन्थ्यो । समाजसेवा र उत्पादनका काममा निरन्तर क्रियाशील रहनुभएकी क. कँडेल जनभावना युवा क्लवको सदस्य, जनहित सहकारी संस्था लि. को उपाध्यक्ष र व्यास कृषि तथा अनुसन्धान केन्द्रको सञ्चालक हुनुहुन्थ्यो ।
२०३४ असोज २० गते रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं. ३, टोकरपुर (साबिक टोकरपुर गा.वि.स. वडा नं. ३, डोरपाटा) मा जन्म भई स्थायी बसोबास रहेकी क. सुशीला कँडेल हाल काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा बसोबास तथा नर्सरी व्यवसाय गर्दै आउनुभएको थियो । सानै उमेरदेखि लगनशील र मेहनती स्वभावकी क. कँडेलले ग्रामीण विकास विषयमा स्नातकोत्तर (मास्टर्स) गर्नुभएको थियो ।
अविवाहित क. कँडेलको परिवारमा आमा, दुई दाजुहरु, भाउजूहरु, दिदी र भतिजा–भतिजीहरु हुनुहुन्छ ।