काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाइँ सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता बनोस् भन्नका निम्ति लडेको लडाइँ हो यो ।’
आज राजधानीमा प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई विरोधीहरुले आरोप लगाउनु र गाली गर्नु सामान्य भएको बताउँदै आफूले जसका निम्ति संघर्ष गरेको हो त्यो वर्गले नै नचिन्दा चिन्ता लाग्ने बताउनुभयो ।
उहाँले पछिल्लो पटक जनतासँग जोडिने अवसर पाएको बताउनुहुँदै जनताका निम्ति गरिने संघर्षलाई ठीक ढंगले जनताले बुझोस् भन्ने चाहना आफूलाई पनि हुने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाइँ भएको जिकिर गर्नुभयो । उहाँले यसअघि पनि पटक पटक आफूलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताउनुभयो ।
आफूलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको बताउनुहुँदै उहाँले अबको आन्दोलन पनि निरंकुशताको विरूद्ध र जनताकै अधिकारका लागि भएको बताउनुभयो । जनताको विचार सही भए सही नेता चुनिने र विचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने उहाँको धारणा थियो । चिनियाँ महान् साहित्यकार लुसुनले नेताको बारेमा भनेका कुराको दृष्टान्त दिँदै उहाँले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्दैन । निर्णायक र मुख्य जनता हो । वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो ।”
“एकथरी मान्छेलाई आदत भयो नेतालाई गाली गर्ने । त्यो सुनेपछि लुसुन भन्ने महान कविले भन्नुभएको थियो – जनता नै खराब भएकाले नेता खराब भएका । तपाईँहरु असल हुनु त, नेता असल नभई सुख पाउँछ त ? नेताहरु जनता र इतिहासले नै पैदा गर्ने हो । जनताले नै संघर्षबाट पैदा हुने नेतृत्वको जिम्मेवारी र आकांक्षा परिपूर्तिका लागि समर्पित र योग्यता राख्छ कि राख्दैन भन्ने नै हो ।” – उहाँको राय थियो ।
अध्यक्ष प्रचण्डले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताउँदै समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा समृद्धिलाई नाप्न सकिने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “समृद्धि केलाई भन्ने? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानवीय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याप, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई समृद्धि भन्न सकिँदैन । समग्र मानव समाज नै एउटा हारमोनीमा, एउटा तादात्म्यमा सामाजिक न्यायसहित सभ्यताको एउटा नयाँ उचाइ छुँदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो ।”
प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ ले समृद्धिको सवालमा कैयौँ प्रश्नहरु उठाएको भन्दै उहाँले तीनै प्रश्न, उत्तर र बहसको बिचबाट नै समृद्धिको रोडम्याप अझै परिष्कृत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “समृद्धिको रोडम्याप पढ्दै जाँदा तपाईँहरुले देख्ने थुप्रै प्रश्न हुन्छन् । म अहिले यसलाई उत्तर आइसकेको किताबको रुपमा पनि भन्न चाहन्नँ । यसले प्रश्न धेरै उठाएको छ । बहस नयाँ ढंगले उठाउन जमर्को गरेको छ । त्यही प्रश्न, उत्तर र बहसको बिचबाट नै समृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जान्छ भन्ने मैले ठान्दछु ।”