प्रचण्ड, chairman prachanda, pushpa kamal dahal
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित शब्द आफैमा विद्रोह भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “म के ठान्छु भने शब्द मुख्य कुरा छैन । आन्दोलन मुख्य कुरा हो । दलित भन्नुको अर्थ अन्याय, अत्याचार, शोषण उत्पीडनका विरुद्ध संघर्ष हो । आत्मसम्मानका निम्ति आन्दोलन हो ।” रुपन्देहीको बुटवलमा शुक्रवार राष्ट्रिय दलित पत्रकार संघ को प्रथम अधिवेशनको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा एकपछि अर्के गर्दै अस्वाभाविक घटना भइरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अहिलेसम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिलाई उल्ट्याउनका लागि षड्यन्त्र गरिएको बताउनुभयो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र गणतन्त्रलाई सिध्याउन प्रयास गरिएको उहाँको भनाइ थियो । ‘तर, ती उपलब्धिलाई कुल्चिने प्रयास भए ७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्न विरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्षले भन्नुभयो, “अहिले विश्वभर चलिरहेको छ कलरफुल रिभोलुसन । क्रान्तिलाई पूरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक रहेको छ । परिवर्तन उल्ट्याउन खोज्नेहरु विरुद्ध शान्तिपूर्ण क्रान्ति गरिन्छ ।”

उहाँले सर्वोच्च अदालतले हालै नेपाल कम्युनिस्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गर्नुभयो । उहाँलेले आश्चर्यमान्दै भन्नुभयो, “यस्तो अचम्म पनि हुँदोरहेछ । यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ट त हुँदै छैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्नपर्ने हो ?”

अध्यक्ष प्रचण्डले अहिले सबैभन्दा धेरै घेराबन्दी आफूमाथि भएको पनि बताउनुभयो । “प्रतिगामी र परिवर्तन विरोधीले, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी मन नपाराउने देशी-विदेशी शक्तिहरु सबै मिलेर यो परिवर्तनका लागि अग्रगामी भूमिका खेल्ने नेताहरुको बद्नाम गर्ने कोशिस भैरहेको छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले सबैभन्दा धेरै घेराबन्दी ममाथि भएको छ ।”